मिन्टु दाको बिहे

क्रमशः
बङ्गालमा क्रिकेट खेलिरहँदाको अर्को घटना पनि सम्झनामा आउँछ । खिदिरपुरको डक एरियामा एक जना मिन्टु दास भन्ने डन थिए । त्यहाँ सामान अनलोन–अपलोडमा समेत उनीहरू हप्तापिच्छे पैसा उठाउँथे । मिन्टु दाको भाडामा लगाउने तीन–चारवटा गाडी थिए । मिन्टु दाको खिदिरपुरका फरवार्ड ब्लक पार्टीका सांसद (एमएलए) कलिमुद्दिन सम्ससँग निकट सम्बन्ध थियो । फरवार्ड ब्लकले प्रान्तीय सरकारमा सीपीएमलाई समर्थन गथ्र्यो, ज्योति बसु मुख्यमन्त्री थिए । दुईपटक मत्स्य पालनमन्त्री भएका कलिमुद्दिनको छात्रछायामा बस्दा मिन्टुको छुट्टै रवाफ थियो । डक एरियामा उनको यस्तो पकड थियो कि मानिसहरू उनको नाम सुनेरै डराउँथे । तर, उनी कहिल्यै पनि सुरा र सुन्दरीमा आकर्षित भएनन् । यो उनको खासियत थियो ।
एमएलएको संरक्षणले मिन्टु दा ठेक्कापट्टामा पनि अघि बढेर झन् शक्तिशाली हुँदै गए । उडिसाका उनले बङ्गालमा आएर राज गरेका थिए । भुकैलासमा उनको घर थियो । अरू जेजे भए पनि मिन्टु दा क्रिकेटप्रेमी थिए ।
सन् १९८९ मा एकपटक आम्ताको गौरीपुरमा ठूलो प्रतियोगिता हुँदै थियो । आम्ताका स्वपन दाले मिन्टु दालाई एउटा टिम बनाउन भनेछन् । आम्ता हामी बसेको खिदिरपुरबाट झन्डै तीन घन्टाको दूरीमा थियो । मिन्टु दाले वाईके चौधरीलाई टिम बनाउन सहयोग मागे । वाईकेले मलाई भने ।
वाईके, म, जाफर बसेर टिम बनायौँ । खिदिरपुरमा राम्रो खेल्नेहरू वाईके, म, जाफर, जोगिन्दर, मिन्टु (खेलाडी)सहितको एउटा टिम बन्यो । हामी टिम लिएर गयौँ । पहिलो म्याच खेल्यौँ, जित्यौँ । गाउँमा भव्य सत्कार भयो । बाजागाजासहित सयाँै मानिसले हाम्रो स्वागत गरे । दोस्रो म्याच पनि जितेर क्वाटर फाइनलमा पुग्यौँ । क्वाटर फाइनलको म्याच पाँच दिनपछि भएकाले स्वपन दाको घरमै बसेका थियौँ । बङ्गाली खानाका परिकारले स्वागत गरिएको थियो । रातीराती वाईके र मैले बियर पनि खान्थ्यौँ ।
मेरो खेल हेरेर मिन्टु दा अति नै खुसी भए । उनले दुई हजार भारु इनाम पनि दिए । पाँच दिनपछि हामी क्वाटरफाइनल हुँदै फाइनलमा पुग्यौँ । र, फाइनल पनि जित्यौँ । आम्तामा वाईके र मेरो जबरजस्त प्रशंसा गरियो । देब्रेहाते बलिङ र ब्याटिङको चर्चा गरियो । मैले हुकपुल पनि राम्रो गर्थें ।
त्यतिबेला टेनिस बलमा तलबाट गुडेर बाउन्ड्री पार गरे दुई र माथिबाट गए चार रन हुन्थ्यो । दौडेर रन लिने त छँदैछ । अर्को वर्ष फेरि प्रतियोगिता हुने भयो । यसपालि तीन महिनाअघि नै चर्चा थियो । गाउँका हुनेखाने मान्छेहरूले बलियो टिम उतार्ने उद्घोष गरेका थिए ।
मिन्टु दाले आफ्नो घरमा हामीलाई बोलाएर तयारी अघि बढाए । हामीसँग फाइनलमा हारेको टिम स्थानीय करोडपतिले बनाएका थिए । बाहिरको टोली आएर प्रतियोगिता जितेको उनीहरूका लागि पीडादायी थियो ।
जति खर्च गरेर भए पनि प्रतियोगिता जित्ने टिम बनाउन उनी पनि लागिपरेका थिए । खासमा गाउँको त्यो प्रतियोगिता पावर सो गर्ने माध्यम बनेको थियो । डन–दादा र धनाढ्यका लागि जुँगाको लडाइँ बनेको थियो ।
मिन्टु दाले यो प्रतियोगिता पनि जित्नका लागि अझ राम्रा खेलाडी सामेल गर्न लगाए । वाईके चौधरीले ‘ढुक्क हुनूस् हामीले जित्छौँ’ भनेर आश्वासन दिए । वाईके लामो लामो छक्का हान्न मसुर थिए । क्रिकेट एसोसिएसन बङ्गालमा लामो छक्का हान्नेमा वाईकेको नाम आउँथ्यो । एक हातले बल क्याच गर्न उस्तै सिपालु । वाईकेले दुई नयाँ खेलाडी ल्याएपछि हामी ७ जना गयौँ । चार दिनमा तीन म्याच खेल्याँै । क्वाटर फाइनल फेरि पाँच दिनपछि हुने भयो । यही दौरानमा मिन्टु दाको स्वपन दाकी बहिनीसँग माया बसेछ ।
उनीहरूको प्रेम पहिलो प्रतियोगिताकै बेला पलाएको रहेछ । पहिलो प्रतियोगिता जितेपछि मिन्टु दाले एकपटक हामीलाई आम्ता घुम्न भनेर लगे । एक्लै जाँदा शङ्का हुन्छ भनेर उनले हामीलाई लगेका रहेछन् ।
क्वाटर फाइनल खेल्नुअघिका पाँच दिन मिन्टु दा बेलाबेला हराउँथे । उनी बाबुकी बहिनीसँग एकान्तमा प्रेमलापमा जाँदा रहेछन् । दोस्रो प्रतियोगिताको क्वाटरफाइनल खेल हुनुअघि मिन्टु दाले आफैँ वाईकेलाई भने, ‘हेर वाईके, मेरो स्वपनकी बहिनीसँग गहिरो लभ छ । त्यसैले खेलमा इज्जतको सबाल छ ।
जसरी पनि जित्नैपर्छ ।’ स्वपन दालाई पनि अलिअलि थाहा भइसकेको थियो । दुवै हुनेखाने परिवारका थिए । मिन्टु दा डन भए पनि रक्सी, चुरोट, पान केही खाँदैनथे ।
कहिलेकाहीँ तास खेल्थे, सय रुपैयाँ प्वाइन्ट । हामीले मिन्टु दाको प्रेमका खातिर पनि प्रतियोगिता जित्नैपर्ने भयो । टिम हाम्रो राम्रै थियो, त्यसमाथि मिन्टु दाको इज्जतको कुराले दबाब महसुस गरेरै खेलेर दोस्रो प्रतियोगिता पनि हामीले जित्यौँ । फाइनलमा मैले ४४ रनको योगदान गरेको थिएँ भने चार विकेट पनि लिएको थिएँ । प्लेयर अफ द फाइनल भएँ । यो प्रतियोगिता जितेपछि म र वाईके चौधरीलाई रिक्सामा राखेर पूरा गाउँभरि घुमाइएको थियो । बाजागाजा, नाचगान र खानपिनले अबेर रातीसम्म रमझम थियो ।
तेस्रो वर्ष पनि हामीलाई निम्ता आयो । त्यसअघि नै मिन्टु दाको बडो धुमधामले बिहे भइसकेको थियो । अब उनी आम्ताको ज्वाइँ भइसकेका थिए । त्यसैले प्रतियोगिता जित्नु अझ ठूलो चुनौती बनेको थियो । उनी भन्थे, ‘जति खर्च लाग्छ, म गर्छु । टिम राम्रो बनाऊ, जसरी पनि जित्नुपर्छ ।’
प्रतिद्वन्द्वी टिमले बर्सेनि नयाँनयाँ खेलाडी ल्याएका थिए । जसरी पनि जित्नैपर्ने दबाब हाम्रा लागि तनाव बन्न थालेको थियो । पहिलोभन्दा दोस्रोपटक जित्न गाह्रो भएको थियो । प्रतिस्पर्धी टिमले यसपटक झन् बाहिरका खेलाडी ल्याउँदै थिए । वाईके दाइसँग कुराकानी गरेर सात जना गज्जब राम्रा खेलाडी सामेल गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ । म, वाईके, जाफर नियमित थियौँ ।
वाईके दाइले यसपालि टेनिस बलमा मात्र खेल्ने चार खेलाडी ल्याए । देवब्रत चक्रवर्ती, श्यामल जो टेनिस बलका च्याम्पियन थिए । उनीहरू हाम्रो टिमा भित्रिए ।
तेस्रो प्रतियोगिता खेल्न जानुअघि मिन्टु दाले वाईके भाइ र मलाई भने, ‘हेर, तिमीहरूले नै मेरो बिहे गराइदियौ । यसपटक पनि जितेर ससुरालीमा इज्जत बरकरार राख्नुपर्छ ।’
खेल राम्रै भयो । सेमिफाइनल अझ रोमाञ्चक भयो । एक रनले हामीले जित्यौँ । त्यसपछि फाइनल जित्न हामीलाई कुनै कठिनाइ भएन । लगातार उपाधि रक्षा गरेर सिल्ड पच गरायौँ । मिन्टु दा अहिले भुकैलास क्लबका मालिक र क्रिकेट एसोसिएसन अफ बङ्गालको कार्यसमिति सदस्य छन् । जसको अध्यक्ष भारतका स्टार खेलाडी एवं पूर्वक्रिकेट कप्तान सौरभ गाङ्गुली हुन् । यो क्लब क्रिकेटमा प्रथम श्रेणी र फुटबलमा दोस्रो श्रेणी क्लब म्याच खेल्छ ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !