बर्तमान अशिष्ट राजनीति : लाचार जनता
नेपालगञ्ज – नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुन पुगेका ब्यक्तिहरु (सम्माननीयदेखि श्रीमानहरुसम्म) द्वारा हालै सम्प्रेषित बिचारहरु पढ्दा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको बर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासीका लागि राम्रो संकेत अबस्यै होइन । सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनको पीडा यस्तै–यस्तै मेरो जस्तो नै होला । किनभने, यी ब्यक्तिहरुका अभिब्यक्ति सुन्दा उनिहरु कति स–साना ब्यक्तिगत स्वार्थमा पनि नेपाली बौध्दिकजगत बिभक्तहुन सक्ने रहेछ भन्नेकुराको पर्दाफास ती केही पूर्व न्यायमूर्तिहरुको बिज्ञप्ति हेरेपुग्छ । हैन भने, यहि नेपाली माटो मै हुर्केका र बढेका ती श्रीमानहरुबाट आ–आफ्नै मातहतका अड्डा अदालतहरुबाट काममा हुनेगरेका ढिला सुस्ति र आर्थिक लेनदेनबारे कहिकतै बोलेको सुन्न र छापामा पढ्न पाएको मलाई सम्झना छैन । सरकार र यस मातहतका बिभागिय बिकृति अनि सरकारका कमि कमजोरीबारे बोल्दा पदिय मर्यादाका कुरा उठाउने तर मौका देख्दा प्रतिकृया स्वरुप बिज्ञप्ति दिइहाल्नुपर्ने कुरोको औचित्य के ? यो घटनाले नेपालका हरेक क्षेत्र बिभाजित छन् भन्ने कुराको पुष्टिगरेको मेरो बुझाई छ । त्यसैले त आज देशभित्र न त आशलाग्दो ब्यक्तित्वको निर्माण हुनसक्यो न त कुनै संस्था नै बाँकी बच्यो, जसले अप्ठारो परेको बेला समग्र देशलाई नै नेतृत्व दिन सकोस् ।
देशको माथिल्लोपदमा पुगेकाका ब्यक्तिहरुमा देश र जनताका खातिर आफुले निर्बाह गर्नुपर्ने दायित्वका बारेको ज्ञानको अभाब हो वा उनिहरु जानिजानि वा अन्जानमै अन्तर्राष्ट्रिय जगतमा देश र जनताको शीर निहुरिने अभिब्यक्ति किन दिन्छन् भन्नेकुराको गहनतम अध्ययन र खोज आज सबै नेपालीको चासोको बिषय बन्नुपर्छ ।
संसद बिघटन किन भयो ? हुनु आबश्यक थियो वा नियति थियो ? वा कसैको गलत नियतको सिकार भयो ? यसको लेखाजोखा गर्ने जिम्मा सर्बोच्च अदालतलाई दिदा नै उपयुक्त होला । तर, बडो दुःखका साथ यहाँ उठाउन खोजिएको कुरा के मात्र हो भने संसदिय पद्धतिको यति लामो अभ्यास (२०४६–७७) पश्चात् पनि राजनीतिक दलका नेताहरुमा लुकेको छुद्रताबाट सिङ्गो मुलुकको बेज्जति भएको छ भन्ने मेरो बुझाई छ । आ–आफ्ना ब्यक्तिगत स्वार्थका खातिर जे पनि र जसरी पनि गर्न तम्सिने मानसिकताबाट निर्देशित कर्मचारीतन्त्र र त्यसैबाट फाइदा उठाउन अभ्यस्त राजनीतिक दलका नेताहरु र बिदेशीले चलाखीपूर्र्ण तरिकाले फालेको ‘कलो’ (खाना खाई सकेपछि कुकुरका लागि हातमा लगिने एक मुठ्ठी भात) खाने संस्कृतिमा रमाउन पल्केका नेपाली ठालुहरुबाट नेपाल र नेपालीले के पाउने आशा गर्न सकिएला ?
अब राजनीतिक दल र तिनका मतियारहरुलाई मात्र गाली गरेर पुग्दैन । नत यसबाट हाम्रा समस्याहरूको समाधान नै हुन्छ । देशका हरेक निकायमा ब्याप्त ‘कलो’ खाने संस्कृतिको उपचार नै यसको एकमात्र बिकल्प हो । यो बिकृत मानसिकताको उपचार एउटै विधिबाट मात्र सम्भब देखिदैन । किनभने, देशको हरेक निकायमा देखापर्ने आर्थिक अपचलन, पहुँच हुनेले कानून मिचेर जे पनि गर्नतम्सिने र त्यसलाई छुट दिने हाम्रो राजनीतिक संस्कारमा पनि परिबर्तनको उत्तिकै खाँचो छ । हैनभने, यस्तै–यस्तै गलत काममा अभ्यस्त हुँदै जाने हो भने नेपाली समाजको सहि र गलत माझ बिभेद गर्ने क्षमताको ह्रास हुने सम्भावना बढ्दो छ । यस्तै मानसिकताको सिकार भएर आज कतिपय सम्पन्न अफ्रिकी र एसियाका देशहरु समेत पूर्णरुपमा ध्वस्त हुने बाटोमा छन् र ती देशहरुमा ब्यक्ति हत्या, लुटपाट, आगजनी र आत्मघाती बिष्फोटन त्यहाँको दैनिकी बनेका छन् । देश तथा देशबासीहरु आक्रान्त र लाचार देखिन्छन् । त्यसैले आजको पहिलो प्राथमिकता भनेको देशको हरेक क्षेत्रमा आत्मबलयुक्त, स्वाभिमानी , चरित्रवान, नैतिकवान तथा अभिमानरहित नेतृत्वको निर्माण अनि लोभबाट कम प्रभाबित ब्यक्तिहरुको नेतृत्वले मात्र हाल सरकार र चर्चामा रहेका लोभी, आत्मबलबिहीन, दासमनोबृत्ति, नैतिकताबिहीन, दम्भी र अभिमानी राजनीतिक पुस्तालाई बिस्थापित गरि नयाँ पुस्तालाई स्थापित गर्नसक्ने छ । यति भए मात्र देश र देशबासिको धमिलिएको प्रतिष्ठा, आत्मबल र आत्मसम्मान पुनः स्थापित गर्न मद्दत मिल्ने छ ।
यतिखेर, देशको हरेक क्षेत्रमा कार्यरत नेपाली नागरिक कुण्ठा, आक्रोश र प्रतिशोधको सोँचबाट ग्रसित छ । यो आक्रोश र प्रतिशोधी भावना नेपालका हरेक राजनीतिक दलहरुमा झनै मौलाएको छ । जसको परिणामस्वरूप उनिहरु मिलेर बस्न सक्ने अबस्था छैन । यद्यपि मिलेर बस्न नसक्नेहरुको बाहुल्यता तुलनात्मक रुपमा आफुलाई कम्युनिस्ट भन्ने दलहरुमा अत्यधिक रहेको लेखकको बुझाई छ । दलका नेतृत्वकर्तामा रहेका इस्र्या, लघुताभास र प्रतिसोधी भाबना कै कारण कतिपय क्षमतावान ब्यक्तिहरु हरेकदलबाट स्वयं किनारा लागेका छन् । नेताहरुमा रहेको कुण्ठाको पुष्टि २०७७ पुस पछिको अप्रत्याशित राजनीतिक दुर्घटना पछि नेकपाका मुर्धन्य नेताहरुका अभिब्यक्तिबाट हुन्छ । यी कुण्ठा र आक्रोशका पछाडी लुकेका धेरै कारणहरु हुनसक्छन् जसको मनोबैज्ञानिक अध्ययन अत्याबश्यक छ । चलाख र छट्टु ब्यक्तिले राजनीतिक दलका नेताहरु र त्यसभित्र बनेका स–साना समूहमा रहेका ब्यक्ति बिषेशको दौराको फेरो समातेर सुबिधायुक्त पदहरु हत्याउन सफल र सिपालु ठालुहरुको आत्मप्रशंसा सुन्दा सामान्य नागरिकलाई समेत उदेकलाग्दो छ । जसले गर्दा आफ्नो पेशालाई मर्यादित बनाउन लागिपरेका र राम्रो काम गर्नुपर्छ भन्ने मान्यता बोकेर पेशामा प्रबेश गरेकाहरु पनि एकपछि अर्को गर्दै निष्कृय हुँदै गएको पाइन्छ । यो अबस्था देश अनि नेताहरूका लागि पनि त्यति हितकर नहुन सक्छ ।
देशको हरेक निकायमा आज देखापरेका मुख्य समस्या नै ब्यक्तिगत लाभका खातिर जे पनि गर्न तम्सिने संस्कृति हो । यसलेगर्दा चरित्रवान ब्यक्तिहरु किनारा लाग्नुपर्ने अबस्था छ । यसै प्रबृत्तिको फलस्वरूप आज हरेक क्षेत्रमा नैतिकवान ब्यक्तिहरुको अभाव खड्किदो छ । राजनीतिमा आबद्ध अधिकांशमा राजनीतिक चरित्र देखिदैन । विविध पेशामा लागेका धेरैमा पेशाागत चरित्रको अभाव छ । के शिक्षक, के चिकित्सक, के कर्मचारी के उद्योगी ब्यापारी सबैको हालत उस्तै–उस्तै छ । सेवामा प्रबेश गरेदेखि सेवानिबृत्त नभएसम्म धेरैको ध्यान सर्बसाधारणलाई झुक्याएर फाइदा लिन मात्र दिन रात खटेको देखिन्छ ।
हालसालै नेपालमा बिकसित राजनीतिक दृष्य र त्यसका मुख्य पात्र अनि तिनका मतियार बनेका ब्यक्तिहरुका अभिब्यक्ति सुन्दा हामी नेपालीले के कस्ता मान्छेहरुलाई राजनीतिमा मलजल गरे छौँ भन्ने कुराले पिरोल्न थाल्छ । अब त हुँदा–हुँदा नेपाली नागरिकका मन र मष्तिष्कमा अर्को मनोबिष्लेशक ‘फ्रायड’ पुनः नेपालमा जन्मिएर नेपाली राजनीतिक दलका नेताहरूको मनोबैज्ञानिक अध्ययन गरिदिए र समाधान दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो । अनिमात्र दलका नेतृत्व बर्गमा रहेको कुण्डा र आक्रोशको समाधान निक्लिएला । अन्यथा नेताहरुमा सकारात्मक सोचको बिकासको आशा गर्नु भनेको आफुलाई नै मुर्ख बनाउनु हुने छ । अस्तु ।
भृकुटीनगर–१०, नेपालगञ्ज ।