नेकपा बाँके : दुवै पक्षलाई भ्याइ–नभ्याई

नेपालगञ्ज – नेकपा बाँकेका नेताहरुलाई यतिबेला भ्याइनभ्याई छ । एकथरीले आन्दोलनमा समय खर्चिरहेका छन् । अर्कोथरी सरकारको बचाउ र पार्टीलाई मजबुत गराउन दौडिरहेका छन् । दौडधुप हेर्दा यस्तो लाग्छ कि नेता ‘गर या मरको स्थिति’मा पुगेका छन् ।
नेपालगञ्जको पार्टी कार्यालय सुनसान छ । अन्यत्र जिल्लाको जसरी यहाँ पार्टी कार्यालय कब्जा गर्ने हिम्मत कसैले गरेका छैनन् । नेताहरुलाई पार्टी कार्यालयमा आउने फुर्सद छैन । आफूले भनेको मान्ने जतिलाई आफूतिर तान्ने खेलमा ओली र प्रचण्ड–माधव दुवै पक्ष लागिपरेका छन् ।
पार्टीमा आजीवन सँगै कुम जोड्याएर हिडेका नेताहरु कोही सडकमा कुर्लिरहेका छन् त कोही कार्यकर्ताहरु जम्मा पारेर सरकारको बचाउ गरिरहेका छन् । प्रचण्ड–माधव समूहले नयाँ–नयाँ शैलीका कार्यक्रम गरेर सडक तताइरहेका छन् । यो समूहमा पूर्व एमाले भन्दा माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ । ओली पक्षमा पूर्व माओवादीका कम देखिन्छन् भने एमालेका बढी छन् ।


जिल्लामा यतिबेला एकै दिन एउटा पक्ष सडकमा नाराबाजी गरेर हिडिरहदा अर्को पक्षमा भेला बैठक बसेर समितिहरु पुनर्गठनमा लागेका छन् । क्षेत्रगत समितिहरु पुनर्गठन भइरहेका छन् । तटस्थ बसेका नेताहरुलाई आफूतिर तान्ने कोसिस गरिरहेका छन् ।
बाँकेमा केही भने चुनाव चिन्ह सूर्य जसले पाउँछ उतैतिर जाने भन्ने पनि छन् । यस्तो भन्नेमा नेता कम देखिन्छन्, कार्यकर्ताहरु बढी छन् ।
निर्वाचन आयोगबाट दुई वटा पार्टी भएको टुंगो लागिनसक्दा जिल्लामा भने तल्लो कमिटिसम्म पार्टी दुई चिरा बनिसकेको छ । एकले अर्कोलाई यसरी सत्तोपरास र कमी कमजोरी औल्याएका छन् कि कथमकदाचित पार्टी एक भइहाल्यो भने नेताहरु एकले अर्कोलाई कसरी अंगालो हालेर हिड्लान् तटस्थ बसेकाहरुले चिन्ता गरेका छन् ।


बाँकेमा जिल्लाको नेतृत्व पूर्वमाओवादीको भागमा परेको थियो । पूर्व एमालेमा माधव समूहका अध्यक्ष थिए । संयोजन हुँदा अध्यक्ष र सचिव दुवै प्रचण्ड–माधव समूह छन् । संघ र प्रदेशमा चुनाव जितेकाहरु एमालेबाट छानिएकाहरु ओली पक्षतिर छन् भने माओवादीबाट जितेकाहरु उतै छन् ।  (देश सञ्चारबाट)


error: यो सुविधा उपलब्ध छैन !