खुल्ला ब्याडमिन्टन : सेमिफाइनल समीकरण पुरा
नेपालगञ्ज – नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सञ्चालित नेपालगञ्ज खुल्ला ब्याडमिन्टन प्रतियोगीताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगीतामा चार वटा इभेन्टका विभन्न खेल सकिंदा मेन्स डबल इभेन्ट्स तर्फको सेमिफाइनल समीकरण पुरा भएको हो ।
क्वाटर फाइनलमा अर्जुन बुढामगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । प्रकाश केसी र सुवास सुवेदीको जोडीले रामकुमार शाह र धनन्जय खड्काको जोडीलाई २–१ सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको छ ।
कृष्ण सलामी र शिव सुनारको जोडी ओम चालिसे र टेकबहादुर रोकायको जोडीलाई २–१ को सेटले पराजित गर्दै सेमिफाइनल पुगेको छ भने देवबहादुर बोहोरा र प्रकाश केसीको जोडीले सचिन चौधरी र विकाश चौधरीको जोडीलाई २–१ सेटले पराजित गरेको छ ।
प्रतियोगिताका पुरुष एकल, महिला एकल, पुरुष एकल लिगका खेलहरु जारी रहेका छन् । प्रतियोगीताका सेमीफाइनल र फाइनल खेल आइतबार हुने प्रतियोगीताका संयोजक जयन्तकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रतियोगीतामा पुरुष युगलतर्फ ४० वटा टिम, पुरुष एकलतर्फ २४ जना र महिला एकलतर्फ १३ जनाले प्रतिष्पर्धा गरेका छन् ।
पुरुष डबल्समा प्रथम हुने जोडीलाई नगद र.१० हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो स्थान हासिल गर्ने जोडीलाई ३ हजार सहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने सहआयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले जानकारी दिनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को आयोजनामा नेपाल लोकतान्त्रिक खेलकुद संघ, मध्यपश्चिम खेलकुद विकास समिति लुम्विनी प्रदेश नेपालगञ्जको सह आयोजनामा प्रतियोगिता भएको हो ।