दाइले सामान जलाए
क्रमशः
सन् १९८९ तिर म फस्ट डिभिजन क्रिकेटको सुरुआती चरणमा थिएँ । बेलगाछिया क्लबबाट खेल्थेँ । खिदिरपुर क्षेत्रमा मलाई चिन्ने धेरै भइसकेका थिए । देब्रे हाते गोपाल बहुत राम्रो खेल्छ भन्थे । त्यसबेला टेनिसदेखि लेदर बलका प्रतियोगिताहरू खेल्न हामी बर्दवान, आम्ता, लिलुवा, काँचरापाडासम्म पुग्थ्यौँ ।
पारिश्रमिक लिएर विभिन्न क्लबबाट खेल्ने म, वाईके चौधरी, अमिताभ, जाफर अली, मजहर अली, राजश्री चौधरीको एउटा समूह थियो । सँगै पढाइ पनि चलिरहेको थियो । म बीएस्सीको अन्तिम वर्षमा थिएँ । त्यही वर्ष धेरै ठाउँमा प्रतियोगिताहरू खेल्न जानुपर्ने भयो । त्यसैले घरभन्दा धेरै बाहिरै हुन्थँे ।
क्रिकेट खेलेर म बिग्रिन लागेको भनेर घर परिवारलाई मन परिरहेको थिएन । माइलो दाइलाई खुबै झाँेक चलेछ । पढ्न छाडेर बर्दवानमा लेदर बलको रात्रिकालीन क्रिकेट खेल्न गएको रिसमा एक दिन उनले मेरो क्रिकेट खेल सामग्री भएको किट ब्याग घरबाहिर ल्याएर जलाइदिएछन् ।
हामीले त्यो रात्रि क्रिकेट प्रतियोगिता जित्यौँ । ५० हजार पुरस्कारको प्रतियोगिता खेल्न हामी ६ साथीहरू कोलकाताबाट बर्दमान गएका थियौँ । त्यहाँ पुग्नै रेलमा अढाइ घन्टा लाग्थ्यो । खेल जितेर घर आएँ । अर्को दिन अभ्यास गर्न जान किट ब्याग खोज्दा घरमा केही छैन । भाउजूले भनेर पो थाहा पाएँ,
सबै जलिसकेछ । बाटा क्लबले दिएका ती सामग्री राम्रा थिए । त्यसैले एकदमै चित्त दुख्यो । अब यो घरमै बस्दिनँ भनेर निस्किएँ । सीधै वाईके चौधरीकहाँ गएर सबै कुरा बताएँ । वाईके मेरो गुरुजस्तै थिए, क्रिकेटका पथप्रदर्शक ।
वाईकेले भने, ‘ठीकै छ, मेरो गद्दीवाला घरमा बस । खाना मेरो घरमा खाऊ ।’ गद्दी ब्याजमा पैसा लिनेको धितो राखेजस्तो घर हो । वाईकेका बुबा धेरै मानिसलाई ब्याजमा पैसा लगाउँथे । त्यसैले उनका गद्दीवाला घर प्रशस्त थिए ।
वाईकेले त्यति भनिसकेपछि मैले घर छाड्ने निधो गरेँ । दाइ घरमा नभएको मौका पारेर कपडा ब्यागमा हालेँ र निस्किएँ । घर छाड्ने बेला भाउजूले रोक्न अनेक कोसिस गर्नुभएको थियो । तर, चित्त धेरै दुखेकाले मैले घर छाडेँ ।
गद्दीवाला घरमा बसेर म क्रिकेट खेल्न धेरै ठाउँ गएँ । आफ्नो घर छोडेर अरूको सहारामा बस्नुको पीडा छुट्टै थियो । वाईकेको परिवारमा मलाई सबैले माया गर्थे । तर, खानेबस्ने आ–आफ्ना तरिका हुन्छन् । घरमा जस्तो दङ्ग्ल्याउन कहाँ पाइन्थ्यो र ? तर, पछि हामीलाई असाध्यै माया गर्ने मिन्टु दाले भुकैलासको शिववाडीमा रहेको आफ्नो फ्ल्याटमा बस्न दिनुभयो ।
वाईके भाइकहाँ खाने र सुत्न मिन्टु दाको फ्ल्याटमा जान्थ्यौँ । यो क्रम तीन महिनासम्म चल्यो । एक दिन ठुल्दिदी आएर सम्झाउनु भयो । दाइले गल्ती ग¥यो, अब त्यस्तो हुन्न, घर हिँड भन्नुभयो । मैले भोलि आउँछु भनेर दिदीलाई फर्काइदिएँ । आफूले खेलेर प्राप्त गरेका सामग्री जलाइदिएको पीडा मनभित्रै दबाएर म परिवारको खुसीका लागि घर फर्किएँ ।
दाइसँग मेरो झन्डै एक वर्ष बोलचाल भएन । म आफ्नै रुटिङमा हिँड्थेँ । भागदौडले बिहानको खाना खाँदैनथेँ । पढ्न, अभ्यास गर्न, पढाउन, खेल्न जाने र आउने कुरामा कसैले हस्तक्षेप गर्न छाड्यो । दाइसँग बोलचाल भने खुलेन ।
पत्रपत्रिकामा भने उहाँ मेरो नाम खोज्नु हुँदो रहेछ । हाम्रो टिमले खेल जित्दा खुसी पनि लाग्दो हो । मसँग नबोले पनि घरमा मेरो चिन्ता, चासो र सोधीखोजी गर्नु हुँदो रहेछ । बोलचाल बन्द भएको लामो समयपछि एक दिन हाँस्दै भन्नुभयो, ‘अझै रिस मरेन ? किन रिसाउँछस्, बोल अब ।’
दिनेशको मृत्यु
हामी बस्ने अघिल्तिर सत्येन्द्र गुप्ता, दिनेश गुप्ता, भगवान् गुप्ता ओमप्रकाश गुप्ता, लखी गुप्ताका घर थिए । तीमध्ये सत्येन्द्र र दिनेश मेरो समकालीन थिए । उनीहरूसँग म सानैदेखि घुलमिल थिएँ । फरक स्कुलमा पढ्थ्यौँ, कक्षा भने एउटै थियो ।
सत्येन्द्र र म मर्निङवाकदेखि खेल्ने गथ्र्यौं । हाईस्कुलको परीक्षा दिएपछि दिनेश पनि मर्निङवाकमा जान थाले । बाबुबजारदेखि रेसकोर्ससम्मको झन्डै ७ किमि हामी दगुथ्र्यौं । दिनेश ट्राममा आउँथ्यो । ट्राम भनेको ब्रिटिसले सुरु गरेको रेलजस्तै यातायातको साधन हो । ट्राममा दुईवटा डब्बा हुन्छन्, फस्ट क्लास र सेकेन्ड क्लास ।
दिनेश जहिल्यै हामीभन्दा पछि राजुसँग जान्थ्यो । तर, एक दिन बिहान ५ बजे नै ऊ मर्निङवाकका लागि निस्क्यो । उसले राजुको घरमा ढोका ढक्ढक् गरेछ । राजुले केहीबेर लाग्छ रोक् भनेछ । दिनेश नरोकिएरै हिँडेछ ।
उताबाट ट्राम आइरहेको थियो । कहिल्यै चल्ती ट्राममा नचढ्ने ऊ चढ्न तम्सिएछ । दौडेर ह्यान्डल समात्नु पथ्र्यो । तर, उच्च फुटपाथमा ब्यालेन्स बिग्रिएछ । हातले ह्यान्डल समात्न नसकेर ऊ खसेछ । ट्रामको बीचमा टाउको बजारिएर घटनास्थलमै उसको मृत्यु भएछ ।
बाहिर निस्किनासाथ यो घटना थाहा पाएपछि एकदमै दुःख लाग्यो । दिनेश श्री ज्ञान भाष्कर स्कुलमा पढ्थ्यो । साथीभाइमा ट्यालेन्ट थियो । सधैँ सँगै खेल्न जाने साथीको मृत्युले हाम्रो मनस्थिति खलबलिएको थियो । एक हप्ता त हामी बिहान खेल्न गएनौँ । जिन्दगीको सफरमा यस्ता घटना भइरहन्छन्, दुःख मानेर नबस् भनेर धेरैले सम्झाए । तर, बिहान घरबाट निस्कँदा सधैँ त्यही घटना आँखाअगाडि आउँथ्यो । त्यसले लामो समयसम्म विचलित बनायो ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)