एउटा कक्षामा तीन विद्यार्थी

नेपालगञ्ज – एउटा कक्षामा तीन जना विद्यार्थीमात्रै देखिदा तपाईलाई अचम्म लाग्न सक्छ । अचम्म नमान्नुस्, नरैनापुरको आदर्श माविको कक्षा १० मा तीन जनामात्रै विद्यार्थी छन् । आठ जना विद्यार्थी रहेको बताइएपनि सधैं कक्षामा उपस्थित हुने तीन जनामात्रै छन् ।
गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही आइतबार कक्षा कोठामा पुग्दा तीन जना विद्यार्थी बसिरहेका थिए । ‘छ न त आठ जना छौं, सधैं हामी तीन जनामात्रै आउँछौं,’ विद्यार्थीहरु भन्दैथिए, पाँच जना आउँदैनन् ।’
विद्यालयको बोर्डमा दश कक्षामा ४ जना विद्यार्थी देखाइएको छ । नौ कक्षामा दश जना विद्यार्थी थिए । स्कूलको बोर्डमा १७ जना विद्यार्थी रहेको देखाइएको छ । आठ कक्षामा २७ जना रहेको भनिएको छ ।


स्कूलमा मावि शिक्षक एकजना पनि छैनन् । निजी स्रोतबाट मावि सञ्चालन गर्छौ भनेर अनुमति लिएको व्यवस्थापनले मावि शिक्षक व्यवस्थापन गर्न सकेको छैन । तल्लो तहका शिक्षकले माथिल्लो कक्षा पढाइरहेका छन् । प्रधानाध्यापक त्रिलोकीनाथ मौर्यले निमावि र माविको शिक्षक नै नरहेको जानकारी दिनुभयो । ‘स्कूलमा शिक्षक छैनन् । विद्यार्थी पनि केही वार्षिक परीक्षाको बेलामा मात्रै आउँछन्, प्रधानाध्यापक मौर्यले भन्नुभयो, मदरसा र स्कूलमा दोहोरो भर्ना छ । विद्यार्थी स्कूल नआउदा अभिभावकले केही भन्दैनन् । ठूला कक्षाका विद्यार्थीहरु भर्ना भएपनि काम गर्न जाने गर्दछन् ।’
स्कूलमा चार सय बढी विद्यार्थी रजिष्टरमा छन् । पढ्न चाहि मुश्किलले दुई सय जना आउँछन् । गाउँपालिकाले शिक्षक दरबन्दीका लागि पहल गर्ने, भौतिक पूर्वाधार निर्माणका लागि तत्काल नै सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !