नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार गरिएको छ ।
नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्यका साथ अघि बढेको सरकारले २८ करोड ५३ लाख बजेट खर्चेर पार्किङस्थल बढाएको हो ।
पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो ।
मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि मास्टर प्लान बनाएर अघि बढेको बताउनुभयो । मन्त्री भट्टराईले पश्चिम नेपालगञ्ज र पूर्वमा विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिनुभयो । ‘नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य हो, मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यसका लागि चार अर्बको लगानी गर्दैछौं ।’ उहाँले टर्मिनल भवन, रनवे विस्तारदेखि भौतिक पूर्वाधारमा ४ अर्ब खर्च गर्न थालेको बताउदै विमानस्थल विस्तारमा आसपासका जग्गा अधिग्रहण गर्दा अझ लगानी हुने बताउनुभयो ।


मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको विकासमा प्रदेश र स्थानीय सरकारलाई पनि लगानी गर्न आग्रह गर्नुभयो ।
सांसद महेश्वर गहतराजले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि २० वर्षे गुरुयोजना बनेपनि त्यसअघि नै काम सक्नु पर्ने बताउनुभयो ।
प्रदेश सांसद आइपी खरेलले नेपालगञ्जबाट छिटो भन्दा छिटो क्षेत्रीय उडान गराउन मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुभयो ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्ज दिल्ली, नेपालगञ्ज पोखरा उडानका लागि पहल गर्न आग्रह गर्नुभयो ।
प्राधिकरणका महानिर्देश राजन पोखरेलले तीन तहको सरकारसँग सम्झौता गरेर अघि बढ्ने नीति लिइएको जानकारी दिनुभयो ।
नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले अब अन्तर्राष्ट्रिय विमानस्थल बनाउदा जहाजका लागि पार्किङस्थलको समस्या नहुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !