नरैनापुरमा कोभिड अस्थायी अस्पताल सञ्चालन

नेपालगञ्ज – नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बीच कोभिड अस्थायी अस्पतालको उद्घाटन गर्नुभयो ।
वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको हो ।
संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।
प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसंँगै संक्रमितलाई उपचारार्थ नेपालगञ्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भएपनि तयारी अवस्थामा रहन जरुरी रहेको बताउनुभयो ।
गाउँपािलका अध्यक्ष शाहले स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको बताउँदै तन, मन र बचनले इमान्दारपूर्वक जनताको सेवामा खट्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताउनुभयो । उहाँले हालसम्म नरैनापुरमा १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेको जानकारी दिनुभयो ।
गाउँपािलकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले स्वागत मन्तब्य व्यक्त गर्नुभएको अस्पताल उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बोल्नुभएको थियो । जिन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गरेको उद्घाटन कार्यक्रम वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !