शहरमा पाइडल क्रान्ति
खजुरा – क्रान्ति फरक–फरक हुन्छ । तिनै मध्ये एक पाइडल क्रान्ति शान्तिपूर्ण रूपमा नेपालगञ्ज शहरमा देखा परेको छ । ५० को दशकमा नेपालगञ्जमा बेजोड हुन्थ्यो पेडलिङ्ग, ६० को दशकपछि त्यो गति रोकियो । अहिले आएर फेरि शहरमा ‘साइलेन्ट रिभोल्युसन’ देखा पर्दै गएको छ ।
यो आफैं होइन, यसमा नेपालगञ्जमा क्रियाशील नेपालगञ्ज साइक्लिङ्ग क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । क्लब र क्लब आबद्ध साइक्लिस्टहरुको क्रियाशिलताले आज नेपालगञ्जमा ठूलो क्रान्ति ल्याएको छ साइक्लिङ्गमा । क्लबले आयोजना गरेको ‘टुर दि ठाकुरद्वारा’ होस् वा ‘नेपालगञ्ज कोरा वा मेयर कप साइक्लिङ्ग प्रतियोगिता’ यी सबै कार्यक्रमले शहरमा साइकललाई स्थापित गर्न कोशेढुङ्गा साबित भएका छन् ।
क्लबको संयोजनमा नियमित रूपमा प्रत्यक बिहान साइक्लिङ्गमा निस्कनेहरुको संख्या बढ्दो छ । क्लबमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका क्लब उपाध्यक्ष रमेशकुमार मल्ल, अध्यक्ष गगन थापा, क्लबका बरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठ, सदस्य प्रेम केसी, सचिव सुरेन्द्रदीप कार्की, कोषाध्यक्ष शालिक सुवेदी, सञ्चारकर्मी कृष्ण खनाल, युवा ब्यबसायी बुद्धि अधिकारी, बयबसायी अगुवा कृष्णप्रसाद श्रेष्ठलगायतको प्रत्यक बिहानीको सक्रियता लोभलाग्दो छ । धेरै साइक्लिस्टहरु नेपालगञ्जको वीपीचोक वा धम्वोजीचोकमा जम्मा भएर विभिन्न ठाउँमा पेडलिङ्गका लागी निस्कन्छन् । क्लबमा थोरै मात्र साइक्लिस्ट हुँदा प्राय सबै एकठाउँ जम्मा भएर एउटा गन्तव्यमा नै हिड्ने गरिएको थियो । पछिल्लो समय नेपालगञ्ज मा ह्वात्तै बढेको संख्यासँगै थुप्रै स–साना समूह भएका छन् हरेक बिहान् १०–१२ वटा भन्दा बढी समूहमा सय बढि साइक्लिस्ट नियमित दौडिन्छ्न ।
२०७४ सालमा औपचारिक रूपमा गठन भएको नेपालगञ्ज साइक्लिङ्ग क्लबले साँच्चै नै साइकल संस्कृति त बढाएको छ नै साथमा क्रान्ती नै ल्याइदिएको छ । अहिले कोहलपुरमा नियमित साइक्लिङ्गमा निस्कने साइक्लिस्टहरुले ‘स्वर्गद्वारी साइक्लिङ्ग क्लब’ को गठन गरि साइक्लिङ्ग अभियान तेज गतिमा अगाडि बढेको छ भने नेपालगञ्जमा पनि ‘नेवा साइक्लिङ्ग गु्रप’ अनौपचारिक रूपमा गठन भै साइक्लिङ्गमा क्रियाशिलता बढेको छ । डाक्टर सुरेश कनोडिया, अधिकारकर्मी भोला महतलगायतको अगुवाईमा रहेको मल्हमपट्टी मर्निङवाक गु्रप समेत साइक्लिङ्गमा सक्रिय छ । यसरी बाँके जिल्ला भरी कोहलपुर, नेपालगञ्ज र खजुरा गरेर माउन्टेन बाइकमा रमाउनेहरुको संख्या छोटो समयमा नै झन्डै दुई सयको हाराहारीमा पुगेको छ ।
अहिले साइक्लिङ्गमा डाक्टर, वकिल, पत्रकार, मेयर, राजनीतिककर्मी, सामाजिक अभियन्ता, अधिकारवादी, बिद्यार्थी, ब्यबसायी, स्वास्थ्यकर्मी, कर्मचारीसहित समाजको सबै तप्का जोडिएको छ । अहिले नेपालगञ्जमा साइकलको माहोल यस्तो बन्दै छ कि साइक्लिङ्ग ननिस्कनेहरु र साइक्लिङ्गमा आबद्ध नभएकाहरु आफुले समाजको एउटा महत्वपूर्ण अभियानलाई मिस गरिरहेको सम्झिन थालेका छन् । आफ्नो निकटवर्ती साइक्लिस्ट भेटिनासाथ आफू साइक्लिङ्गका लागी इच्छुक भएको र छिट्टै साइक्लिङ्ग गु्रपमा जोडिने प्रतिबद्धता गर्न चुक्दैनन । साइकलमा बिहान हिड्नेका पोस्टले नेपालगञ्ज, खजुरा र कोहलपुरलाई मात्र होइन यसले आसपासका छिमेकी जिल्लामा समेत प्रभाव छोडिरहेको छ ।
नेपालगञ्जको साइक्लिङ्गको सक्रियताले र यहाँ भएका गतिविधिले नेपालगञ्ज बाहिर धनगढी, सुर्खेत, दाङ, बुटवल, कपिलवस्तु, हेटौंडा, पोखरा, नारायणगढ, उदयपुर, काठमाडौदेखि पूर्वको झापा र धरानसम्म पनि सकारात्मक सन्देश सहित पर्यापर्यटन र वातावरणमैत्री अभियानलाई पनि टेवा पु¥याएको छ । नेपालगञ्जसँग ब्यबसायिक, पारिवारिक र जागिरे वा अन्य कुनै प्रकारको सम्बन्ध नभएकाहरुलाइ पनि नेपालगञ्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको ‘टुर दि ठाकुरद्वारा’ कार्यक्रमले नेपालगञ्ज ल्याइ पु¥याएर घुमाएको छ । नेपालगञ्जसँग अन्य शहर र ठाउँको नयाँ सम्बन्ध निर्माणमा साइकल एउटा कडि बनेको छ । यसर्थ पनि साइक्लिङ्ग क्लबले पेडलिङ्गमा क्रान्ति गरेको छ ।