कलेज र बिद्यार्थी राजनीतिका यादहरु
खजुरा – महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा मानविकी संकायतर्फ भर्ना भए, आइएमा । उ बेला नयाँ कुरा आयो, आइएको सट्टा +२ (प्लस टु) । यो नौलो अनि बिद्यार्थीका लागि आकषर्णको कुरा थियो । मेरो मनलाई प्लस टुले आकर्षण गरेन । धेरै साथीहरू र केही आफन्तले पनि प्लस टुका लागी नसुझाएको होइन । घरमा बुवाको जागिरले पनि मलाई प्राइभेट कलेज पढाउन सहजै थियो । म आफैं तयार थिइन ।
प्लस टु नौलो हुँदा हुँदै मलाई त्यसले आकर्षण गर्न नसक्नुको एउटा मात्र कारण थियो, राजनीति । म बिद्यार्थी राजनीतिको कडा लतमा फसिसकेको थिए । कुनै स्म्याकी वा गजडीले त्यो लत बरु सहजै छोड्थ्यो होला । तर मलाई राजनीतिको लत यति कडा लागेको थियो कि छुट्ने छुटाउने उपाय थिएन ।
निजी प्लस टुमा अनुशासन कडा हुन्थ्यो । राजनीतिक गतिविधि त्यहाँ हुँदैन थियो । त्यसैले म तर्सिएको थिए । मब क्याम्पसमा दशौ हजार बिद्यार्थी हुन्थे । म क्याम्पस पढ्न आउनुपूर्व नै बिद्यार्थीको जिल्ला तहको नेता भैसकेको थिए, १० कक्षा पढ्दै गर्दा अनि क्याम्पस को प्रवेशसँंगै त माहोल नै बेग्लै । सुदूरपश्चिमको अछाम, बाजुरा, बैतडी, कैलाली टीकापुरदेखि बर्दिया अनि भेरी अञ्चलका दैलेख, सुर्खेत, जाजरकोट, राप्तीको सल्यान, दाङ, रोल्पा, रुकुम र प्युठानसम्मका बिद्यार्थीको बाक्लो उपस्थिति बाँकेका त भैनै हाले ।
१० औं हजार बिद्यार्थीका माझ बिद्यार्थी नेता हुन पाउदा धेरैले चिन्दथे अनि म स्थानीय समेत भएको हुँदा फुर्ती बेग्लै नै हुन्थ्यो । नगरभरीका स्कुल स्कुल त पुगिन्थ्यो नै, कहिले महाराजा मावि पुरैनी त कहिले प्रभात मावि जीगाउँ, कहिले कोहलपुर कहिले मैटहवा कहिले थपुवा कहिले खजुरा, सैनिक अनि सितापुर प्राय जसो धेरै दिन अखिल कै काममा बिताइन्थ्यो । नढाटी भन्ने हो भने कोर्स र पढाई लक्षित भन्दा पनि क्याम्पसको भर्ना पुराका पुरा बिद्यार्थी राजनीति केन्द्रित थियोे ।
सानैदेखि (१० बर्ष को उमेर) राजनीतिमा विभिन्न पाराले जोडिएको हुँदा जिल्लाभरीका सबै पार्टीका अगुवाले चिन्थे । सबैसँग राम्रो सम्बन्ध थियो नै त्यसले झन् राजनीति प्रतिको रहर र काममा हौसला दिन्थ्यो ।
क्याम्पसमा नयाँ बिद्यार्थीका लागी प्रत्येक बर्ष वेलकम कार्यक्रम हुन्थ्यो । ती सबै स्ववियु निर्वाचन लक्षित नै हुने गर्थे । साहै्र रमाइलो पो हुन्थ्यो, हजारौं बिद्यार्थीका माझमा हुने कार्यक्रमहरु । म स्वाभावले अलि सरल र नम्र नै थिए । त्यसैले धेरै साथीहरूसँग राम्रो मित्रता नै थियो । राजनीतिको गतिविधि र काममा जति म सक्रिय थिए तर पढ्ने सवालमा त्यो सक्रियता कमजोर थियो । राजनीतिक काम र गतिविधिका कारण मन स्थिर नहँुदा पढाइमा सकस नै ब्यहोरे । मध्यम स्तरको बिद्यार्थी भएपनि मैले इन्टर पास गर्न दुई तीन पटक ब्याकपेपर दिन प¥यो ।
पार्टी बिभाजन भयो नेकपा (एमाले) को छैटौं महाधिवेशन नेपालगञ्जबाट । नेपालगञ्ज रंगशालामा महाधिवेशन हुँदाका दृश्य अहिले पनि ताजै लाग्छ । गेट बाहिर नाराबाजी भित्र कडा सुरक्षासहित महाधिवेशन । बाहिर दुई पक्षीय नेता कार्यकर्ताको चर्को चर्को नाराबाजी त्यसबीचमा भएको झडपमा बिद्यार्थी नेताहरू योगेश भट्टराई र रुपनारायण श्रेष्ठ घाइते हुनुभयो । हामी निकै आक्रोशित हुँदै नाराबाजी गरियो, रेडक्रस अफिस छेउको बाँकेबगियामा रहेको एउटा घरमा उपचार पछि आराम गर्दै हुनुहुन्थ्यो । सायद रुपनारायण श्रेष्ठको त हातनै भाँचिएको थियो । त्यहाँ गएर हामीले रुपनारायण श्रेष्ठ र योगेश भट्टराईलाई भेट्यौं ।
पार्टी बिभाजन पछि झन् बिद्यार्थी राजनीति चर्को बन्दै गयो । जिल्लाभर घुमेर आधाभन्दा बढी स्कुलमा म आफैंले स्कुल स्कुलमा कमिटी बनाउन गए । त्यसपछि योगेश भट्टराईको नेतृत्वमा रहेको अनेरास्ववियुले राष्ट्रियताको सवालमा देशभर अभियान शुरु ग¥यो, कालापानी मार्चमा रहर हुँदा हुँदै पनि म सहभागी हुन सकिन । लक्षमणपुर मार्च अभियानमा स्थानीय स्तरमा ब्यबस्थापन र कामको अगुवाई गर्ने अवसर मिल्यो । गाडीका गाडी हजारौंको संख्यामा बिद्यार्थीको टोली नेपालगञ्जबाट गगनभेदी नारा लगाउदै लक्षमणपुर बाँधतर्फ अगाडि बढ्यो । त्यहाँ पुग्न नपाउदै हामीलाई प्रहरीले यतै रोक्ने प्रयास ग¥यो । प्रहरीसँथ धेरैबेर रस्साकस्सी भयो, बाँकेका सिडिओ पनि त्यहाँ पुगे । पारी भारतीय सुरक्षाफौज अत्याधुनिक हातहतियार सहित स्ट्यान्ड्बाइ थिए । जति कोेसिस गर्दा पनि ठूलो संख्याको प्रहरी परिचालनले गर्दा हामी अगाडि बढ्न सकेनौं र वरै आमसभा गरेर हामी नेपालगञ्ज फर्किए ।
पार्टी बिभाजन पछिको पहिलो स्ववियु निर्वाचन आयो । महेन्द्र बहुमुखी क्याम्पसमा निकै नै रस्साकस्सी थियो चुनावको । अखिल पनि बिभाजन थियो । हामीले स्ववियु सभापतिका लागि नेपालगञ्जका स्थानीय युवा प्रमोद रिजाल (हाल वडा अध्यक्ष नेपालगञ्ज एक नम्बर) लाई सभापतिको उम्मेदवार बनाइयो । अर्को अखिलबाट चल्तापूर्ता युवा दिपक बोहरा सभापतिको उमेदवार बने । क्याम्पसमा बर्दियाबाट पनि ठूलो संख्यामा बिद्यार्थी पढ्थे अनि बोहरा होस्टेल मै बस्ने हुँदा बिद्यार्थीसँग बढी हिमचिम थियो नै । नेबिसंघको पनि बलियो प्रभाव थियो क्याम्पसमा ।
सुदूरपश्चिम खास गरि अछामतिरका बिद्यार्थी जम्मै नेबिसंघ हुने उनीहरुको ठूलो दबदबा थियो । चुनाव हाम्रो लागि निकै गाह्रो थियो । अनेक प्रयास र चुनावी गतिविधि हेर्दा हामीले निकै अप्ठ्यारो ठानेका थियो त्यो बेला । राप्रपा निकट बिद्यार्थी संगठनबाट ऋषि देवकोटालाई र स्वतन्त्र बिद्यार्थी भनेर उ बेलाका नेपालगन्जिया गायक अमन श्रेष्ठ अनि अर्का बिद्यार्थी बिजय गहतराजलाई पनि सदस्य लडाइयो । अन्तिममा परिणाम हाम्रो पक्षमा आएन दिपक बोहरा स्ववियु सभापति निर्वाचित भए, अमन श्रेष्ठ ६ मत र बिजय गहतराज १० मतले पराजित भए ।