कोरोनासँगै टिबी जाँच गर्ने कि ?

 

नेपालगञ्ज – नेपालमा क्षयरोग (टिबी) बाट दैनिक १८ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । दैनिक एक सय २३ जना नयाँ संक्रमित भेटिन्छन् । दैनिक ३४ जना नयाँ संक्रमित पत्ता लाग्न नसकेको सम्बद्धहरु बताउँछन् ।
कोरोनाले देश हल्लाइरहेका बेला टिबीतिर पनि ध्यान दिने हो कि ? वार्षिक साढे ६ हजार मानिसको मृत्यु भइरहेको टिबीलाई पनि कोरोनाजत्तिकै फोकस गर्ने हो कि ? नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सरोज रिमाल कोरोनासँगै टिबीको पनि जाँच गर्नुपर्ने बताउनुहुन्छ । रिमालको भनाई छ, ‘टिबीका धेरै लक्षण कोभिडसँग मिल्छ । कोभिडलाई फोकस गर्दा टिबीलाई बिर्सिएका छौ कि ?’
बाँकेमा टिबीका बिरामी बढिरहेको तथ्यांकले देखाउँछ । रिमालका अनुसार, पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा टिबीका बिरामी बढिरहेका छन् । आर्थिक वर्ष २०७४-७५ मा ७ सय ९८, २०७५-७६ मा ८ सय १ जना, २०७६-७७ मा ८ सय ५१ जना टिबीका बिरामी छन् । नेपालगञ्जको मात्रै कुरा गर्ने हो भने आर्थिक वर्ष २०७४-७५ मा २ सय २२, २०७५-७६ मा २ सय ५२ र २०७६-७७ मा ८ सय ५१ जना पुगेका छन् ।
यद्यपि, बाँकेमा एक हजार दुई सय बिरामी रहेको आकलन गरिएको छ । एकजनाले १० देखि १५ जनालाई टिबी सार्न सक्छन् ।
स्वास्थ्यकर्मीहरुका अनुसार, हरेक मानिसको शरीरमा ५० प्रतिशत टिबी हुन्छ । प्रतिरक्षा क्षमताले गर्दा मात्रै त्यसको असर देखिदैन ।
नेपाल क्षयरोग निवरण संस्था, बाँकेका पूर्वअध्यक्ष पूर्णलाल चूके टिबी भन्ने बित्तिकै डराउनु नपर्ने बताउनुहुन्छ । ‘यसको उपचार हुन्छ, त्यो पनि निशुल्क, चूकेले भन्नुभयो, समाजमा देखिएको डरलाई मात्रै भगाउन जरुरी छ ।’
नेपालमा सन् १९९६ देखि डट्स सेवा शुरु गरिएको छ । चार जिल्लाबाट शुरु भएको यो सेवा सन् २००१ देखि देशभरनै लागु रहेको छ । सन् २०५० मा नेपाललाई टिबीमुक्त गराउने अभियान चलिरहदा लुकेका मािनसलाई बाहिर ल्याएर उपचार गर्नु ठूलो चुनौती रहेको छ । गतवर्षको तथ्यांक हेर्दा ३२ हजार ४ सय ७४ जना देखिन्छन् । तर, यो संख्या ४५ हजार रहेको आकलन गरिएको छ । एक सर्वेक्षणले ६९ हजार केस रहेको देखाएको सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !