कोरोनाबाट कैदीको मृत्यु
नेपालगञ्ज – कोरोनाबाट कैदीको मृत्यु भएको छ ।
कर्तब्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत सहारेका ५८ वर्षीय कैदीको आज विहान मृत्यु भएको हो ।
दमको विरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका कैदीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । स्वास्थ्य समस्याकै बीच भदौ २१ गते उनको स्वाव लिइएको थियो । त्यही दिन राती कोरोना पोजिटिभ आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यद्यपि, बाहिरी जिल्लाबाट आएका व्यक्तिमा उनी चौथोमा परेका छन् ।