आधार कार्ड देखाउँदै भारत जादै नेपाली

नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट यतिबेला दैनिक दुई सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरिरहेका छन् । ५ नम्बर र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपाली कामका लागि भारत जाने गरेका हुन् । कोरोनाको त्रास शुरु भएसँगै घर फर्किएका उनीहरु यतिबेला भारत गइरहेका छन् । नाकामा भारत जाने नेपालीको घुँइचो देख्न सकिन्छ ।
आफ्नै उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने नौलो कुरा होइन, उनीहरु जाने–आउने गरिरहेको देखिन्छ ।
नाकामा आवतजावत सहज छैन । नेपाली नागरिकता बोकेकालाई नेपाल आउन र भारतीय आधार कार्ड बोकेकालाई भारत जान दिइन्छ । आधार कार्ड देखाएर भारत जानेमा धेरैजसो नेपाली पनि देखिएका छन् ।
आधार कार्ड भएकाले भारतीय सरकारले दिने सेवा सुविधा पाउँछन् ।
पहाडी जिल्लाका अधिकांश नेपालीहरु नेपाल आउदा नागरिकता र भारत जादा आधार कार्ड देखाउने गरेका छन् । खासमा नेपालीहरु मौसमी कामका लागि जाने गर्दछन् । कामदारलाई पनि भारतमा आधार कार्ड बनाइदिएको पाइएको छ ।
कोरोना कहरसँगै घर फर्किएका नेपालीहरु भारत जान ढिलाई हुँदा कतिपय ठाउँका भारतीयहरु रुपैडिहासम्म नै नेपालीलाई लिन आइरहेका छन् । आधारकार्डले नाका पार गरिरहेका उनीहरुलाई भारतीय मालिकहरुले ‘पास’ को समेत व्यवस्था गरिरहेका छन् । कामदारको चरम अभाव भएकाले नेपालीहरु नाका कट्ने बित्तिकै मालिकले पठाइदिएको गाडीमा बसेर गन्तब्यमा जाने गरेका छन् । विशेष गरेर उत्तराखण्डका विभिन्न ठाउँमा स्याउ खेतीमा ठूलो संख्याका नेपाली परिचालन भएको पाइएको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले नेपालीहरु पनि आधार कार्ड देखाएर भारत गइरहेको जानकारी दिनुभयो । ‘आधार कार्ड देखाएर दिनमा डेढ सयदेखि दुई सयसम्म नेपालीहरु भारततिर गइरहेका छन्, गिरीले भन्नुभयो ।
अधिवक्ता लोकबहादुर शाह भन्नुहुन्छ, ‘एकै व्यक्तिले नागरिकता र आधार कार्ड लिनु कानूनतः गलत हो । कतिपय नेपालीले लिइरहेको देखिन्छ ।’
आधार कार्ड भएका व्यक्तिलाई विभिन्न सुविधा हुन्छ । खाद्यान्नमात्रै होइन, रेल यात्रामा समेत छुट हुन्छ । विशेष काम पर्दामात्रै घर आउने नेपालीले भारतीय सरकारबाट दिइने सेवा सुविधा लिनका लागि पनि आधार कार्ड लिने गरेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !