बाँकेको दुई दिने निषेधाज्ञा हट्यो

नेपालगञ्ज – बाँके प्रशासनले शुक्रबार र शनिबार लगाउदै आएको निषधाज्ञा हटाएको छ ।
नेपालगञ्जका उद्योगी व्यापारीको शुरुदेखि कै विरोधका बावजुद स्थानीय प्रशासनको कोरोनाको ‘चेन’ तोड्ने भन्दै हप्तामा दुई दिन निषेधाज्ञाको निर्णय गरेको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको उक्त निर्णयपछि शुक्रबार र शनिबार सुनसान हुने गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले शुक्रबार र शनिबारको निषेधाज्ञाको हटाइएको जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम रहेकाले सावधानी अपनाउन सुझाव दिनुभयो ।
सरकारले नै कोरोनालाई सामान्य रुपमा बुझ्न थालेको बेलामा बाँकेमा हप्तामा दुई दिन लगाइएको निषेधाज्ञाको औचित्य नरहेको चर्चा हुने गरेको थियो । कोरोनाको जाँचसमेत अब लक्षण चिन्ह देखिएकाको मात्रै हुने भएको छ । क्वारेन्टाइनका बसेका व्यक्तिमा पनि १४ दिनसम्म कुनै लक्षण चिन्ह नदेखिए चेक नगरी घर पठाउने निर्णय भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !