बम पड्काउने समातिए
नेपालगञ्ज – विगतमा मालपोत, भूमि सुधारलगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् ।
उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् ।
केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ चैत्र ६ गते साविक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको घटनामा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
२०६८ मंसीर १४ गते भूमि सुधार कार्यालय, बाँकेमा बम विष्फोट गराएको आरोपमा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो । यही दिन मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा जिल्ला अदालतले ६ महिना र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
फरार रहेका राढलाई बाँके प्रहरीले अहिले पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत राढ पक्राउ परेका छन् ।
यस्तै प्रहरीले २०७४ कात्तिक १६ गते जोगीडाँडामा करणी प्रयास गरेको मुद्दामा फरार गोविन्द श्रीपालीलाई पक्राउ गरेको छ ।