त्रिभुवनचोकमा गरिएको परीक्षणमा तीन जना पोजिटिभ
नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा मजदुरलाई लक्षित गरी गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, त्रिभुवनचोकमा एक सय १७ जनाको स्वाव लिइएकोमा तीन जनाको रिजल्ट पोजिटिभ आएको छ । नेपालगञ्ज वडा नं. १२ की १९ वर्षीया किशोरी, नेपालगञ्ज वडा नं. ११ का ३९ वर्षीया पुरुष र जुम्लाका ३३ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी नेपालगञ्जमा बसेर काम गर्छन् । आन्तरिक राजश्व कार्यालयका अधिकृत हुन् । वडा नं. १२ की किशोरी कामको खोजीमा आएकी हुन् भने वडा नं. ११ का युवा मिठाई पसलमा काम गर्छन् । यी तिनै जना क्वारेन्टाइनमा बसेका होइनन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ६ जना बर्दियाका मानिसका कोरोना देखिएको छ । अस्पतालका अनुसार, बर्दिया राजापुर वडा नं. ८ का पाँच जना र ठाकुरबाबा वडा नं. ६ का एकजना रहेका छन् ।