पत्रकारका ६ बुँदे माग

नेपालगञ्ज – बाँके र बर्दियाका सञ्चारकर्मीहरुले नेपाल सरकारले नेपालगञ्जबाट दिइआएको नियमित सेवा सुविधाहरुबाट एक वर्षदेखि वञ्चित हुँदै आएको गुनासो गर्दै नेपाल सरकारका सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले बिहीबार नै प्रमुख जिल्ला अधिकारीमार्फत आफ्ना ६ वूँदे मागहरु सहितको ज्ञापन पत्र बुझाएका हुन् ।
वरिष्ठ पत्रकार तथा साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुकेद्वारा वाचन गरी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई बुझाइएको ज्ञापन पत्रमा गत वर्षसम्म नेपालगञ्जबाट सञ्चार केन्द्रमार्फत स्थानीय पत्रपत्रिका तथा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाहरु सञ्चार केन्द्रको खारेजी पछि प्रदेश अस्थाई राजधानीका नाममा रुपन्देही जिल्ला हुलाकलाई दिइएकोमा आपत्ती जनाउँदै उक्त जिम्मेवारी बाँके जिल्ला हुलाकलाई दिइनु पर्ने माग गरिएको छ ।
संघीय पुनरसंरचना पछि गाउँ गाउँमा सिंहदरवार भन्ने नारा खोक्रो भएको ठहर गर्दै बाँके र बर्दियाका सञ्चारकर्मीका लागि विगतमा सञ्चार केन्द्र, नेपालगञ्जले दिदै आएका सेवा सुविधाहरु जिल्ला हुलाक कार्यालय, बाँकेमार्फत दिन जोडदार माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा नयाँ प्रेस प्रतिनिधि प्रमाण पत्र वितरण, प्रेस प्रतिनिधि प्रमाण पत्र नविकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्ने, सबै प्रकारका छापा माध्यम तथा विद्युतीय सञ्चार माध्यमहरुको अभिलेखीकरण, नविकरण तथा सबै प्रकारका छापा र विद्युतीय सञ्चार माध्यमहरुको क्षमता विकास गर्ने, प्रदेश कानून बमोजिम हुने सञ्चार तथा सञ्चारकर्मी सम्बन्धीका व्यवस्था लागुगर्ने जस्ता माग रहेका छन् ।
ज्ञापन पत्र बुझाउने क्रममा एक दर्जन पत्रकारहरुको सहभागिता रहेको साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाही, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश कमिटिका महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महांसंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, नेपाल पत्रकार महासंघका पार्षद् तथा साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुके, प्रेस संगठन बांकेका संयोजक डक्टप्रसाद प्रसाद धिताल, अकोराव नेपाल जिल्ला समन्वय समितिका संयोजक मो. आरिफ अन्सारी, सञ्जालका सचिव अजय कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।
सञ्चार केन्द्र बाँकेबाट खारेज गरेर प्रदेश नं. ५ को अस्थाई राजधानी रुपन्देहीको भैरहवा स्थित जिल्ला हुलाक कार्यालय रुपन्देहीलाई जिम्मा दिइएपछि बाँके र पत्रकारहरुले लोकल्याणकारी विज्ञापनको बिल लिएर करीब ५ सय ५० किलो मिटर टाढा भैरहवासम्म मोटरसाइकलमा जानु पर्ने वाध्यता छ । लकडाउनका कारण गत असार महिनामा वर्षाद्को समयमा यहँका पत्रकारहरुले लोकल्याणकारी विज्ञापनको बिल बोकेर भैरहवा जानु परेको थियो भने प्रेस प्रतिनिधि प्रमाण पत्रको नवीकरण गर्न सम्बन्धित पत्रकारहरु स्वयम् कि त काठमाडौं कि त भैरहवा जानु पर्ने झमेलाले गर्दा कैयौं पत्रकारहरुले आफ्ना प्रमाण पत्र नवीकरण गर्न नपाएको गुनासो गरेका छन् ।
उक्त ज्ञापन पत्र ग्रहण गरेपछि प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बिहीबार नै सञ्चार प्रविधि तथा प्रसारण मन्त्रालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । देश संघीयतामा गईसके पछि राज्य पुनरसंरचनाको क्रममा हरेक प्रकारको सेवा सुविधा जनताको नजिकको इकाईमा पुग्नु पर्नेमा झन् सञ्चार क्षेत्रले विगतमा नेपालगञ्जबाट पाई रहेका सेवा सुविधाहरु समेत खोसिएकोले बाँके र बर्दिया जिल्लाका सञ्चारकर्मी ठूलो मर्कामा परेका छन् । ज्ञापन पत्रको वोेधार्थ ५ नं. प्रदेशका मुख्यमन्त्रीको कार्यालय, बुटवलमा पनि पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !