भारतबाट आएकाहरु स्कूलमा
नेपालगञ्ज – भारतबाट आएका तीन सय ३३ जनालाई नरैनापुर गाउँपालिकाले सात वटा स्कूलमा क्वारेन्टाइन बनाएर राखेको छ ।
भारतका विभिन्न सहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइन थपेर उनीहरुको व्यवस्थापन गरिएको अध्यक्ष शाहले बताउनुभयो । ‘अहिले पनि मानिसहरु आउने क्रम जारी छ, सीमामा आएकाहरुलाई ल्याएर क्वारेन्टाइनमा राखिरहेका छौं, व्यवस्थापन गर्न गाह्रो भइरहेको छ तर पनि यथासक्य गरिरहेका छौं,’ अध्यक्ष शाहले भन्नुभयो ।
दुई दिनको अवधिमा आएका ३ सय ३३ जना मध्ये ५८ जनालाई वडा नम्बर ६ को भोजपुरस्थित जयकिसान मावि, ६६ जना वडा नम्बर ५ को भगवानपुरस्थित दिपेन्द्र प्रावि, वडा नम्बर ४ को नेरा प्रावि परशुरामपुरमा ५७ जना, लक्ष्मणपुर २ आदर्श माविमा ७९, नेरा प्रावि शंकरनगर कोटियामा ४० र नरैनापुर ४ को एक मदरसामा ३३ जनालाई राखिएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
यसअघि आएका ३४ जनालाई नेरा प्रावि खोदवाँमा राखिएको छ । ती ३४ सहित ३५ जनाको स्वाव लिइसकिएको छ । उनीहरु बैशाख २० गते भारतबाट आएका थिए ।