दशगजामा दुःखेको मन

खजुरा – यतिबेला हामी मात्र होइन सिंगो संसार नै आक्रान्त छ, जताततै स्थिति भयावह, कष्टकर अनि अप्ठ्यारो बन्दै गएको छ । यस्तो अवस्थामा एक अर्का बीचको मानवीय सहयोग, परोपकारी भावना अनि सामुहिक लडाइँ नै अहिलेको आवश्यकता हो ।
संसारका थुप्रै मुलुक कोरोनाको कहरसँगै लकडाउनमा छन्, हाम्रो छिमेकी मुलुक भारत अनि हामी पनि लकडाउन कै अवस्थामा गुज्रिरहेका छौं । यो अवस्थामा देशभित्र नै रहेका थुप्रै सडकमा जीवन बिताउनेहरु, दिनभरिको काम पछि साँझको चुलो बाल्नेहरु अनि सानोतिनो सडक पेटी, ठेलाको ब्यापार गर्नेहरुको दैनिकी दिनप्रतिदिन कष्टपूर्ण बन्दै जादैछ । अझ देश भित्र त भोकै प्यासै केही आशाका त्यान्द्रा बटुल्दै बाँचिएला यो अवस्थामा नेपालीले परदेशमा बिताउनु पर्दाको अवस्था कल्पना समेत गर्न सकिदैन । भारतमा देखिएको लकडाउनको पुराका पूरा असर लाखौंलाख नेपाली जो भारतका उद्योग, कलकारखाना अनि होटलमा कामगर्नेहरु र भरियाहरुमा परेको छ । उनीहरुको अवस्था झन् बिजोग बनेको छ । मालिकले घर जाउ भनेर धपाएका नेपालीहरु यतिबेला बोर्डर बोर्डर मा रुदै, भोकै, प्यासै दशगजाबाट मातृभूमि चिहाउँदैछ्न । महाकालीमा मरे मर्छु भन्दै हाम फालेर स्वदेश फर्किने हुन् वा स्वदेश फर्किने भोको र प्यासो शरीरले नाराबाजी गर्दै गर्दाका दृश्य हुन् यतिबेला धेरैको मन दशगजामा देखिएको दृश्यले रुहाउँदै छ ।
हाम्रो नेपालगञ्जसँग रहेको रुपैडिहा बोर्डरमा नि यो दृश्य केही दिनदेखि देखियो । २–३ दिनदेखि देखिदै आएका दृश्यले मन कुडिएको छ । ती मन दशगजामा कति दुखे होलान् ? पारिपट्टीबाट मध्यरातमा जंगल कटाएर लाठी हान्दै दशगजाबाट धक्का मारेर पठाउनु पूर्व बाँके प्रशासनले के पहल ग¥यो ? किन ल्याइएन सहजतापूर्वक उनीहरुलाई स्वदेश ? कहाँ चुक्यो हाम्रो प्रशासन वा राज्य अहिले आम नागरिकले जवाफ खोजिरहेका छन् । हुन त यो अवस्था गुनासो र प्रश्न गर्ने अवस्था हुँदै होइन तर आफ्नै छेउमा देखिएको यो दृश्यले मन रोकिएन केही नबोली अनि केही नलेखी, भारतीय समकक्षीसँग सम्बाद अनि जिल्लाका राजनीतिक दल र नागरिक अगुवासँग समन्वय र सहकार्य गरि अहिलेको अवस्थासँग जुध्न सकेनन् बाँकेका प्रजिअ, यो नलुकेको यथार्थता हो । जुन तदारुकता र रफ्तारमा यतिबेला एउटा प्रशासक अगाडि बढ्न पथ्र्यो, उसले आफ्नो कार्यसम्पादन गर्नु पथ्र्यो त्यसमा चुकेकै हुन् उनी ।
हिजो पनि १ सय ८० जना नेपाली जो मुग्लानबाट यो बिपत्ति आएसँगै नेपाल फिरेका छन् अहिले नि सिमामा नेपाल पस्न देउ भन्दै गुहार लाउदै छन् । उनीहरुले आफ्नो देश पस्न हड्ताल र नाराबाजी गर्नु परेको अवस्थाले आज सिंगो मुलुकको ध्यानाकर्षण भएको छ । उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखौं र आ–आफ्नो घर पठाउने ब्यबस्थापन गरौं, दशगजामा स्वदेश पस्न रुनु परेको दृश्यले सबैको मन कुडिएको छ ।
हो, यतिबेला कोरोना भाइरसको महामारी छ । तर, आएका सबै नेपाली कोरोना रोगी पनि होइनन् । उनीहरुलाई क्वारेन्टाइनमा राखी चेकजाँच गरौं, यो बिपत्ति र महामारीको बेला हो । यस्तो बेला मातृभूमि प्रवेशमा रोक लाउनु समाधान होइन । अब उनीहरुको ब्यबस्थापन स्वदेशमा नै गरियोस् र हुनुपर्छ भनिरहदा बाँके प्रशासनले दशगजा मै टेण्ट टाँगेर बस्ने ब्यबस्थापन गरेको खबरले केही राहत अनुभूति भएको छ । तर, यो बिचको अवधिमा देश भित्र नै बिरानो हुँदै दशगजामा काटेका ती सेकेन्ड, मिनेट र घन्टाहरुले पक्कै उनीहरुले जिवनभरको एउटा गाथा र कथा आफ्ना पुस्तालाई हस्तान्तरण गर्ने सम्पत्ति जोडिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !