संक्रमित किशोरीसँग आएका व्यक्तिको ‘स्याम्पल’ पठाइयो
नेपालगञ्ज – कोरोना संक्रमित किशोरी सवार जहाजमा आएका व्यक्तिको ‘स्याम्पल’ काठमाडौं पठाइएको छ ।
चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको जहाजमा बाँकेका तीन जना आएका थिए । एकजना बर्दियाका थिए । सबैलाई क्वारेन्टाइनमा राखिएको छ । यीसहित अहिले नेपालगञ्जको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । तीमध्येमा ६ जनाको स्याम्पल काठमाडौं पठाइएको छ । अरु तीन जनाको पनि स्याम्पल पठाइदैछ ।
बाँकेबाट यसअघि पठाइएका सात जनाको नतिजा नेगेटिभ आएको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसलाई क्वारेन्टाइन बनाएर नौ जनालाई त्यही राखिएको छ । बाँकेमा सबैजसो पालिकाले क्वारेन्टाइन बनाइरहेका छन् । आठ वटा पालिकामध्ये राप्तीसोनारी र जानकीले पनि क्वारेन्टाइन बनाउदैछन् । अरु पालिकाले बनाइसकेका छन् ।
खजुराको सैनिकमा बनाइएको २५ बेडको क्वारेन्टाइनमा चार जनालाई राखिएको नेकपाका युवा नेता भीम वलीले जानकारी दिनुभयो । उनीहरु विदेशबाट आएका हुन् । खजुराकै इगाउँमा विदेशबाट आएकालाई सुरक्षित तवरले राख्नका लागि इन्टरनेट सुविधासहितको क्वारेन्टाइन बनाइरहेको नेकपाका युवा नेता सतिश निरौलाले बताउनुभयो । यो कार्यमा वडाध्यक्ष तिलकविर सुनारले अगुवाई गरिरहनु भएको छ ।
विदेशबाट आएकाहरुलाई खोजी–खोजी क्वारेन्टाइनमा राखिएका छन् । पालिकास्तरमा बनाइएको समितिहरुले यस्तो गरिरहेका छन् ।
जिल्लामा संक्रमित भेटिएका छैनन् । संक्रमित भेटिएमा राख्नका लागि लायन्स डेन्टल अस्पताललाई आइसोलेसन कक्ष बनाइएको छ । नेपालगञ्जमा दैनिक एक दर्जन ज्वरोका बिरामी आइरहेका छन् । ज्वरो आउदैमा डराउनु पर्ने अवस्था हुँदैन । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा दैनिक ११, १२ जना आइरहेको जानकारी दिनुभयो ।