हिसाव गर भिजन

नेपालगञ्ज – भिजन सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत केही पत्रकारले पारिश्रमिक नपाएको उजुरी गरेका छन् ।
पत्रकार भगतराम थारु र रविन्द्रसिंह ठकुरीले पारिश्रमिक नपाएको भन्दै नेपाल पत्रकार महासंघ, बाँकेमा उजुरी दिएपछि घटना बाहिर आएको छ । पत्रकारद्वयको उजुरीपछि नेपाल पत्रकार महासंघ, बाँके, प्रेस संगठन, मिडिया नेपाललगायतका पत्रकारका छाता संगठनले विज्ञप्ती निकालेर पारिश्रमिक उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
भिजन टेलिभिजन अहिले बन्द छ । ५० जना सञ्चालक रहेको टेलिभिजनले छिटो भन्दा छिटो हिसाव मिलान गर्नुपर्ने पत्रकारका छाता संगठनहरुको माग रहेको छ । काम गरेवापतको पारिश्रमिक पाउनु पर्छ, यसमा दुईमत छैन । सञ्चारगृहका सञ्चालकले पत्रकारद्वयलाई बोलाएर छलफल गर्दा राम्रो हुन्थ्यो, त्यसो हुन सकेन । सञ्चारगृहविरुद्ध पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु कानूनी उपचारमा जाने अवस्था आउनु नै दुर्भाग्य हो ।
महासंघका उपाध्यक्ष प्रदीप वाग्ले, प्रेस संगठनका अध्यक्ष डक्ट धिताल, मिडिया नेपालका जिल्ला संयोजक काशीराम शर्माले विज्ञप्ती निकालेर छिटो भन्दा छिटो पारिश्रमिक उपलब्ध गराउन दबाब दिएका छन् ।
भिजन टेलिभिजनका प्रवन्ध निर्देशक श्रीराम सिग्देलले यसबारेमा प्रतिक्रिया दिन इन्कार गर्दै कानूनी उपचारमा गएकाहरुसँग त्यही भेट हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !