वाह ! शर्मिला, मन जित्यौ

नेपालगञ्ज – प्रदेश ५ को टीम विभागीय तीन र न्यू डायमण्ड भन्दा कमजोर थियो । त्यसमा पनि एकै दिन दुई म्याच खेल्यो, प्रदेश ५ अर्थात नेपालगञ्ज–६ ले ।
नेपालगञ्ज–६ ले कुनै खेल जित्ला भनेर धेरैले आशा गरेका थिएनन् । जागीर भनेकै खेल्ने काम रहेको विभागीय टीम र भलिबलको स्टार टीम न्यू डायमण्डको अगाडि नेपालगञ्ज–६ का स्कूले किशोरी कमजोर नै थिए । अझ भलिबलमा खेल प्रतिस्पर्धात्मक हुँदा आफ्नो टीमले दुई वा तीन अंक लगातार गुमाउदा प्रशिक्षकले टाइम आउट लिइहाल्छन् । ब्रेक लिएर खेलाडीलाई सम्झाउँछन् । यो भलिबलको विश्वव्यापी नियम हो । नेपालगञ्ज–६ को टीमले प्रधानमन्त्री कप खेल्दा कुनै टाइम आउट लिएन । किनकी, खेलाडीमात्रै होइन, प्रशिक्षककै मानसिकता कमजोर देखिन्थ्योे, विपक्षी टीम देखेर ।
यस्तो अवस्थामा नेपालगञ्ज–६ की शर्मिला नेपालीले नेपालगञ्जका भलिबलप्रेमीको मन जित्न सफल भइन् । कक्षा ६ पढ्दादेखि भलिबल खेल्न शुरु गरेकी शर्मिलाले ब्याचलर पुग्दा अधिकांश दर्शकको मन जित्न सफल भइसकेकी छन् । शर्मिलाले नेपालगञ्जमा जारी पीएम कपमा टिमको कमजोर प्रदर्शनका बाबजुद ब्यक्तिगत प्रदर्शनले दर्शकको मन जितेकी हुन् ।
प्रदेश ५ की क्याप्टेन समेत रहेकी शर्मिलाले नेपालगञ्जमा चलिरहेको खेलमा आफूलाई स्टाइलिस रुपमा प्रस्तुत गरिन् । शर्मिलाको प्रदर्शन र मेहनतले राष्ट्रिय खेलाडीको आकर्षणलाई समेत फितलो–फितलो पारिदियो ।
नेपाल प्रहरीको विभागीय टोलीसँग पनि खेलेको प्रदेश नं. ५ ले जीत निकाल्न त सकेन । तर, क्याप्टेन शर्मिलाले कभर्डहलमा दर्शकको वाहवाही खुब पाइन् । दर्शकले हुटिङ्ग गर्दै ‘शर्मिला पावर हिट’ भनेर हौसला बढाएका थिए । केही राम्रा शर्ट प्रहार गरेकी शर्मिलाले खेलहलमा दर्शकहरुको खुबै साथ पाइन् । टिमको कमजोर प्रदर्शनका बाबजुद पनि शर्मिलाले ब्यूटि भलिबलको रोमाञ्चकता बढाइन् ।
दाङ दंगीशरणा गाउँपालिका श्रीगाउँमा स्थायी बसोबास गर्ने शर्मिला खेल र पढाईबाट फुर्सद हुँदा इन्ष्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । महिला भलिबल खेल जति लोकप्रिय छ, त्यतिकै ग्लयामरमा पनि टप अर्डरमा रहन्छ । भलिबल ग्लयामरको क्षेत्रमा सशक्त माध्यम हो ।
कभर्ड हलमा दर्शकहरुले शर्मिलाको हाँसोलाई खुबै रुचाए, दर्शक दिर्घामा बसेका क्याप्टेन शर्मिलाका समर्थकहरुले उनको स्ट्यान्डबाई पोजिसनलाई चेयरअप गरेका थिए । शर्मिलाको भलिबलमा निरन्तरता रहेमा भविष्य उज्वल रहेको खेल पण्डितहरुले आकलन गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !