नेपालगञ्जलाई ‘हेप्नी’ ?

नेपालगञ्ज – गोकुल बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएको बेला ‘हेप्नी’ भन्ने शब्दले खुब चर्चा पायो । सामाजिक सञ्जाल त हेप्नीले नै भरियो । बास्कोटासँग जोडिएको चर्चा परिचर्चा सेलाउदै जादा हेप्नी भन्ने शब्द पनि बिस्तारै हरायो ।
नेपालगञ्ज उपमहानगरपालिकाले केही दिन अघि पत्रकार सम्मेलन ग¥यो । मेयर डा. धवलशमशेर राणाको कुरा सुनेपछि प्रदेश सरकारले नेपालगञ्जलाई हेपेको जस्तो लाग्यो । प्रदेश सरकारले नेपालगञ्जलाई गाउँपालिका भन्दा पनि कम बजेट दिएको रहेछ । हुन पनि गएतवर्ष बाँकेकै जानकी गाउँपालिका र यसपाली खजुरा गाउँपालिका भन्दा कम बजेट दिएछ । खजुरा गाउँपालिकामा आठ करोड बजेट दिंदा नेपालगञ्ज उपमहानगरपालिकामा एक करोड ६० लाख पठाइएछ ।
कुरा खजुरालाई धेरै दियो, नेपालगञ्जलाई कम दियो भन्ने होइन । नेपालगञ्ज प्रदेश राजधानीको दौडमा लम्केको शहर हो । तर, विडम्बना पहुँच पुगेन । प्रयास जारी नै छ । ५ नम्बर प्रदेशका अरु उपमहानगरपालिकालाई जति नदिएपनि नगरपालिका भन्दा त बढी अनुदान दिनु पथ्र्यो । गाउँपालिका भन्दा पनि कम दिने ? नेपालगञ्जलाई यसरी हेप्नी ?
नेपालगञ्जलाई महानगर बनाउने, औद्योगिक शहर बनाउने कुरा त मुख्यमन्त्रीको मुखबाट सुन्दै आएको हो । यसरी गाउँपालिकालाई भन्दा पनि कम बजेट दिएर नेपालगञ्ज महानगरपालिका, औद्योगिक शहर हुन्छ त ? प्रदेश राजधानीको दौडबाट पाखा लगाइएपछि दुःखी भएका यहाँका जनतालाई अझ पीडा दिने ? मेयर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियान थाल्यो भनेर बजेट कम दिइएको हो भने त्यसो गर्नु हुँदैन है ! ५ नम्बर प्रदेशमा चार वटा उपमहानगरपालिका छन् भने सबैलाई उस्तैउस्तै बजेट दिनु पर्छ । कोहीलाई अत्याधिक धेरै र कोहीलाई अति नै कम दिएर काखा र पाखाको व्यवहार गर्नु भएन नि ।
प्रदेशबाट बजेट कम आएपछि नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले यसबारेमा पुनः विचार गर्न अनुरोध पठाइसकेको रहेछ । प्रदेशमा पठाइएको पत्रमा भनिएको छ, ‘प्रदेश सरकारबाट वार्षिक रुपमा प्राप्त हुने अनुदान बजेट रकम यस जिल्लाका अन्य स्थानीय नगरपालिका, गाउँपालिकाहरुको तुलनामा यस उपमहानगरपालिकालाई न्यून बजेट स्वीकृत भई आएकोले उक्त न्यून बजेट बारे पुनः विचारको लागि ५ नम्बर प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।’ बोर्ड बैठकको अनुरोधको अहिलेसम्म कुनै प्रतिक्रिया आइसकेको छैन । प्रदेशले नेपालगञ्जको हकमा पुनर्विचार गर्नैपर्छ ।


error: यो सुविधा उपलब्ध छैन !