‘टिकटक’मा प्रतिस्पर्धा गर्ने हो ? क्यान इन्फोटेकमा आउनुस्
नेपालगञ्ज – क्यान महासंघ, बाँके शाखाको आयोजनामा फाल्गुन २० देखि २४ गतेसम्म नेपालगञ्जमा हुने क्यान इन्फोटेक बिगतको भन्दा विशेष हुने बताइएको छ ।
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान इन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ मेलाको आयोजना गर्न लागिएको हो ।
क्यान महासंघ, बाँकेका अध्यक्ष रमणी शर्माले क्यान इन्फोटेकको चौथो संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताउनुभयो ।
मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रीहरुका स्टल रहने अध्यक्ष शर्माले बताउनुभयो ।
५ दिनसम्म सञ्चालन गरिने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमार्फत टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको छ ।
मेलामा पत्रकार, अपाङ, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने आयोजकले जनाएको छ । मेलाका प्रचार प्रसार समिति संयोजक शरद रिजालले मेला उत्कृष्ट हुन लागेको जानकारी दिनुभयो ।
कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी, अनलाइन अर्निग, आइटी सचेतना, अनलाइन बिलिङलगायत बिभिन्न विषयमा दैनिक बृदत प्रर्दशनी, रोबटिक फाइट प्रतिस्पर्धा, नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता, पब्जी, फिपालगायतका बिभिन्न खेलहरु, एग्रीकल्चर ड्रोन को प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ ।