विप्लवको चन्दा आतंक, वडाध्यक्षहरुको बस्यो आकस्मिक बैठक

नेपालगञ्ज – विप्लव माओवादीले नेपालगञ्ज उपमहानगरपालिकासहित सबै वडा कार्यालयमा चन्दा माग गरेको पत्र पठाएका छन् । चन्दा मागको पत्रले गर्दा वडाध्यक्षहरु तनावमा परेका छन् ।
विप्लवले पत्र पठाएको लामो समय भइसकेको छ । वडाध्यक्षहरुले चन्दा दिइसकेका छैनन् । ‘तै चुप, मै चुप’को अवस्थामा रहेका वडाध्यक्षहरुले एक आपसमा पत्रबारेमा छलफल गरेका छन् । विप्लवको पत्रलाई लिएर आइतबार साँझ नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा वडाध्यक्षहरुको आकस्मिक बैठक बसेको छ । अब कसरी जाने भन्ने तय गर्न बैठक बसेको थियो ।
वडाध्यक्षहरुको बैठकले कसैलाई पनि चन्दा दिन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको स्रोतले बताएको छ । ‘हाम्रो आफ्नो तलव छैन । विकासको बजेटबाट चन्दा दिन मिल्दैन, एक वडाध्यक्षले भने, हामी चन्दा दिन सक्दैनौ ।’
वडा कार्यालयमै आएर विप्लव माओवादीका कार्यकर्ताले चन्दा मागको पत्र छोडेर गएका थिए । आफ्नोमा मात्रै आएको होला भनेर वडाध्यक्षहरुले लामो समयसम्म गुपचुप राखेका थिए । पत्रका बारेमा के भइरहेको छ भनेर तारन्तर फोन आउन थालेपछि वडाध्यक्षहरु के, कसो गर्ने भन्नेमा लागेका हुन् ।
सर्वोच्च अदालतले तलव रोकिदिएपछि वडाध्यक्षहरु रन्थाएका छन् । त्यसमा पनि विप्लवको चन्दा माग, कति दिनु पर्ने हो भन्ने खुलेको छैन । फोन गर्दा पनि उनीहरुले पैसा खुलाएका छैनन् । सहयोग गर्नुस् मात्रै भनिरहेका छन् । सहयोग त सहयोग, तर कति ? वडाध्यक्षहरु झस्किएका छन् । बैठकपछि भने वडाध्यक्षहरुले चन्दा नदिने निष्कर्षमा पुगेका छन् । ‘प्रतिबन्धित पार्टीलाई चन्दा दिन मिल्दै मिल्दैन,’ अर्का वडाध्यक्षले जिकिर गरे ।
नेपालगञ्ज उपमहानगरपालिकामा बसेको बैठकमा सबै वडा कार्यालयमा आएको पत्र हेरिएको थियो । सबैको एकैखालको रहेको छ । त्यसपछि फ्लोअपका लागि आएको मोबाइल नम्बर पनि मिलेको छ । चन्दा मागको पत्रले अत्तालिएका वडाध्यक्षहरु प्रहरीकहाँ पुगिसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले विप्लवले चन्दा मागेको बारेमा उजुरी नआएको जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जनप्रतिनिधिहरु विप्लवको चन्दा मागको उजुरी दिन नआएको बताउनुभयो । तर, चन्दा मागको आशंकामा बाँके प्रहरीले केही समययता आधा दर्जन विप्लव कार्यकर्तालाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !