प्रज्ञालयको ‘नो योर चाइल्ड’
नेपालगञ्ज – मेरो टुकी प्रज्ञालयले अभिभावकहरूका लागि सही अभिभावकत्व विषयको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया गरेको छ । ‘नो योर चाइल्ड’ नाम दिइएको सो कार्यक्रममा बाल विशेषज्ञ डा. रोमा बोरा, फिजिसियन डा. शंकर केसी तथा काउन्सिलर एवं स्पिकर सुशीलकुमार गुप्ताले अभिभावकहरूलाई विविध विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा डा. बोराले अभिभावकलाई पोषण तथा खोप विषयमा केन्द्रित रहेर यिनका विषयमा विद्यमान रहेका मिथक, भ्रान्त धारणाबारे जानकारी दिंदै सही अभिभावकत्वका विषयमा चर्चा गर्नुभयो भने डा. केसीले औषधी सम्बन्धी मान्यता र मानव स्वास्थ्यबारे जानकारी दिनुभयो । प्रश्नोत्तर सत्रमा दुवै चिकित्सकले अभिभावकका थुप्रै जिज्ञासाहरू समाधान गर्नु भएको थियो ।
सही अभिभावकत्वसम्बन्धी दोस्रो सत्रमा काउन्सिलर तथा स्पिकर सुशीलकुमार गुप्ताले बालबालिकामा हुने मल्टिपल इन्टेलिजेन्स (बहु बौद्धिक क्षमता)बारे अभिभावकलाई प्रशिक्षण दिनुभयो । बालबालिकाको जन्मजात प्रकृति पत्ता लगाई सोहीअनुसार अध्ययन प्रवृत्ति र विशेष क्षमताअनुसार ‘प्यारेन्टिङ’ कसरी गर्ने भन्ने विषयमा प्रवचन तथा प्रयोगात्मक विधिद्वारा गुप्ताले अभिभावकलाई प्रशिक्षण दिनु भएको थियो ।
मेरो टुकी प्रज्ञालयले सही अभिभावकत्वमा केन्द्रित रही विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । प्रज्ञालय लगायत अन्य विद्यालयका अभिभावक समेत लाभान्वित होउन् भन्ने उद्देश्यले यस्ता विशेष प्रशिक्षण तथा कार्यशाला मासिक रूपमा आयोजना गर्ने मेरो टुकी प्रज्ञालयकी प्रमुख कल्पना शर्माले बताउनुभयो ।