लज्जावतीको छट्पटी र उकुसमुकुस

नेपालगञ्ज – मनमा छट्पटी र उकुसमुकुस । करमोहनाकी लज्जावती बढई फोटो खिच्दा लज्जाउनु भयो । नेपालगञ्जको बागेश्वरी मन्दिरमा भेटिनु भएकी बढई मनको छट्पटी र उकुसमुकुसलाई शान्त पार्न मन्दिरमा आउनु भएको थियो, पूजा गरेर होइन, छिमेकी रहेका महन्त हरहरिनाथ योगीसँग सरसल्लाह गर्न ।
गाउँमा चर्चा छ, बागेश्वरी मन्दिरको ८४ विगाहमा करमोहना गाउँ पर्छ । जसलाई सरकारले फिर्ता लिदैछ । त्यही ८४ विगाह भनिएको क्षेत्रभित्र बढईको घरसहित चार कठ्ठा पर्छ । ‘मालपोत कार्यालयले जग्गा रोक्का गरिदिएको छ भनेका छन् । सरकारले जग्गा फिर्ता लिन्छ रे, बढईले भन्नुभयो, खासमा कुरा के हो । बुझ्नका लागि छिमेकी रहेका महन्त हरहरिनाथलाई भेट्न आएको हुँ ।’
महन्तले के भन्नुभयो त नि ? बढईले भन्नुभयो, ‘सरकारले जग्गा लगे सबैको लैजान्छ । नत्र कसैको लैजादैन ।’
करमोहनाबाट हिडेर बागेश्वरी मन्दिरसम्म आउनु भएकी बढईमा अब के हुन्छ भन्ने चिन्ता थियो । उहाँले यस संवाददातासँग पनि पटक–पटक त्यही प्रश्न गरिरहनु भएको थियो ।
सरकारले बागेश्वरी मन्दिरको भन्दै करमोहनाको ८४ विगाह जमिन फिर्ता गर्ने निर्णय गरेपछि यतिबेला करमोहनामा सबैको मनमा बढईको जस्तो चिन्ता, छट्पटी र आक्रोश रहेको छ । उनीहरुले समूहमा आएर केही दिनदेखि नेपालगञ्जमा आक्रोश पोखिरहेका छन् । अब के हुन्छ ? भन्ने चिन्ता र छट्पटी भित्रभित्र भुसको आगोजसरी फैलिरहेको छ ।


स्थानीय अगुवा तुलाराम कुर्मीले सबैमा चिन्ता र आक्रोश रहेको बताउनुभयो । सयौं वर्षदेखि उपयोग गरेको जमिनलाई साँच्चै सरकारले लगिदिन्छ त ? सबैको मनमा प्रश्न उब्जिएको छ । बागेश्वरी मन्दिरमा तिरो तिर्दैमा मन्दिरको जग्गा नहुने कुर्मी बताउनु हुन्छ ।
मन्दिरको जग्गा थियो भने व्यक्तिको नाममा कसरी गयो खोजबिन हुन जरुरी छ । मूलमहन्त र महन्तको नाममा कहिले र कसरी जग्गा गयो ? मूलमहन्तले आफ्नो नाममा आएको धेरैजसो जग्गा बेचिसकेका छन् । महन्तहरुको नाममा सबै जग्गा आएको देखिदैन । अरु जग्गा कसरी व्यक्तिको नाममा गयो ? मालपोतका कर्मचारी नमिली त्यो सम्भव छ र ? आम जनताले प्रश्न गरिरहेका छन् । केही भूमाफियाको चलखेलले सयौं वर्षदेखि बसिरहेका स्थानीयवासीलाई दोषी ठहर्याउन मिल्छ ? प्रश्न गर्नेहरु पनि छन् ।
सार्वजनिक, सरकारी, गुठी जग्गासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार मानेर सरकारले जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । तर, समग्रमा नभई एक एक गरेर कसबाट कसले, कहिले खरिद बिक्री या कसरी मन्दिरको जग्गा व्यक्तिकोमा पुग्यो अथवा त्यही जग्गा सबै एकैनासको छ कि छैन ? गहिरो अनुसन्धान हुन जरुरी देखिन्छ । एकथरी भूमिपूत्र हौ भनिरहेका छन् । अर्काथरी केही पछि जग्गा किनेर बसेका छन् । सबैलाई एकै डालोमा हाल्न मिल्छ कि मिल्दैन ? आयोगले सुक्ष्म अनुसन्धान गर्न आवश्यक रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !