बाँके र बर्दियालाई कर्णालीमा मिसाउन पेशागत अगुवा सहमत

नेपालगञ्ज – बाँकेका पेशागत संगठनका प्रतिनिधिले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउदा उपयुक्त हुने सुझाव दिएका छन् ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानका लागि बनेको समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष लालमणि आचार्य, प्याब्सनका अध्यक्ष राजेन्द्र आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष वीरेन्द्र यादव, नेविसंघका अध्यक्ष पूर्णप्रसाद आचार्य, अनेरास्ववियुका सहसंयोजक टेकेन्द्र मल्ल, नेपाल यातायात राष्ट्रिय महासंघका टंक बस्याल, भेरी यातायातका प्रमोद धिताल, होटल अर्गनाइजेशनका टेकनारायण सापकोटा, तरुण दलका विनोद रिजाल, चिकित्सक संघका डा. विनोद कर्ण, उपप्राध्यापक रविन्द्र कर्णलगायतले बाँके र बर्दियाको भविष्य कर्णालीमा मिसिदा नै सुझाव दिनुभयो ।


विगतदेखि नै बाँके र बर्दियाको लिगेसी कर्णालीसँग रहेको र ५ नम्बर प्रदेशको पुच्छरको शहर भएर बस्नु भन्दा कर्णाली प्रदेशमा गएर एक नम्बरको शहर हुन उपयुक्त हुने पेशागत संघ संगठनका प्रतिनिधिको जोड थियो ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने कुरा राजनीतिक नभई समृद्धिको एजेन्डा भएको बताउनुभयो । उहाँले राजनीतिक दललाई सहमति ल्याउने प्रयास जारी रहेको बताउदै त्यो भन्दा अघि जनतालाई जागरुक गराउने अभियान थालेको जानकारी दिनुभयो ।


बाँके र बर्दियाका स्थानीय तहमा छलफल गर्ने, दुवै जिल्लाको फाइदाका बुँदाहरु राखेर पालिकाहरुमा ब्यानर राख्ने र त्यहाँ हस्ताक्षर गर्न लगाएर प्रधानमन्त्रीलाई बुझाउने समन्वय समितिले तयारी गरेको छ ।
नेपालगञ्जका उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले अहिले नै आन्दोलन शुरु गरिनसकेको बताउदै जनतालाई जागरुक गराउन अभियान थालेको बताउनुभयो । ‘जनता जागेपछि आन्दोलन हुन्छ, प्रवक्ता रिजालले भन्नुभयो, जनता सडकमा आएपछि राजनीतिक दल र नेताहरु पनि आइहाल्छन् । किनकी, यसमा कुनै दलको स्वार्थ छैन । बाँके र बर्दियाको भविष्यको कुरा छ ।’


error: यो सुविधा उपलब्ध छैन !