वडाध्यक्षले गरे बहराइचमा गएर आत्महत्या
नेपालगञ्ज – साँझ ६ बजेको थियो । खड्गवार जाने बाटोमै पर्ने कृष्णबहादुर खड्काको घरमा भीड बढ्दै थियो । सबैका अनुहार मलिनो थियो । केही रोइरहेका थिए । जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु आउदै फर्किदै थिए । छिमेकीहरुको भीड बढ्दो थियो ।
घर अगाडिको भीडमा समूह समूह बनाएर किन प्राण त्यागे भन्ने कुरा भइरहेको थियो । हुन पनि वडाध्यक्ष कृष्णबहादुर खड्काले भारतको बहराइचमा पुगेर किन आत्महत्या गरे सबैको जिज्ञासा थियो । कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष खड्का घरबाट सुर्खेत जान्छु भनेर मंगलबार निस्केका थिए । सुर्खेत जान्छु भनेको व्यक्ति बहराइचस्थित शंकर होटलमा मृत फेला परेका हुन् । होटलको ४ नम्बर कोठामा बसेका खड्काले २२ पेजको सुसाइड नोट लेखेका छन् । त्यसमा कोहीलाई दोष देखाइएको छैन । घरायसी समस्यालाई संकेत गरिएको छ ।
होटलमा बास माग्दा खड्काले लखनऊबाट आएको बताएका थिए । भोलीपल्ट होटलको कोठा नखुलेपछि ढोका फोरेर भित्र पसिएको थियो । भित्रबाट चुक्कुल लगाएका खड्का मृत अवस्थामा थिए । होटल सञ्चालकले नै फोन गरेपछि घरपरिवारले थाहा पाएका थिए । त्यसपछि खड्काका छोरा, नेकपाका नेताहरु अशोक कोइराला, सूर्य ढकाल, अब्दुल हुसेन खाँ, बसन्ती अधिकारी, नारायणी वलीलगायत बहराइच पुगेका थिए ।
नेकपाका जिल्ला सचिवसमेत रहेका कोइरालाले खड्काले आत्महत्या गरेको देखिएको बताउनुभयो । ‘कोठामा भित्रबाट चुक्कुल लगाइएको थियो । सुसाइड नोट पनि भेटिएको थियो । त्यसमा कसैलाई दोषी देखाइएको छैन, सचिव कोइरालाले भन्नुभयो, सबै हेर्दा घरासयी समस्याले गर्दा आत्महत्या गरेकोजस्तो देखिन्छ ।’
बिहीबार अपरान्ह ५ बजे खड्काको शवलाई घरमा ल्याइएको थियो ।