किन नेपालगञ्ज आउदैनन् सदस्य सचिव ?

नेपालगञ्ज – पश्चिममा खेलकुदको केन्द्रविन्दु मानिन्छ, नेपालगञ्ज । भौतिक संरचना निर्माण, राष्ट्रिय जर्सी लगाउने खेलाडी र खेल संरचनामा बसेका पदाधिकारीहरुको उपस्थितिले गर्दा नेपालगञ्ज पश्चिमको केन्द्र मानिने गरेको हो ।
नेपालगञ्जले केही महिनाअघि मात्रै आठौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न गरेको छ । आठौंले गर्दा यहाँ करोडौको भौतिक संरचना बनेका छन् । जुन यहाँका खेलाडी र खेलसम्बद्धका लागि खुशीको कुरा हो नै ।
आठौंको लागि बनेका भौतिक संरचनाहरुको संरक्षण यतिबेला चुनौतीको विषय बनेको छ । नेपालगञ्ज रंगशाला परिसरमा मात्रै ४२ करोडबढीको संरचना बनेका छन् । यो संरचनाको संरक्षण कसले गर्ने हो अन्यौल देखिन्छ । जस्तो, संघ, प्रदेश वा स्थानीय तह ।
अहिले नेपालगञ्जमा यी संरचनाको संरक्षणसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव किन नेपालगञ्ज आउदैनन् भन्ने चर्चा चल्ने गरेको छ । सदस्य सचिव भएको सात महिना पार भइसक्दा पनि सदस्य सचिव एकपटक नेपालगञ्ज आएका छैनन् ।
आखिर सदस्य सचिव नेपालगञ्ज किन आउदैनन् ? कतिपयले नेपालगञ्जमा आठौंको हिसाव मिलान नभएकाले सदस्य सचिव नआएको बताएका छन् । यसमा केही सत्यता पनि हुन सक्छ । आठौंमा विज्ञापन हालेका यहाँका सञ्चार माध्यमले पैसा पाएका छैनन् । सदस्य सचिव आउने बित्तिकै ठोक्किने भनेको त पत्रकारसँगै होला । सञ्चार गृहमात्रै होइन, अरु उपसमितिको पनि हिसाव पछ्र्यौट भइसकेको छैन ।
खेलसम्बद्धका अनुसार, अहिलेका सदस्य सचिवले पुरानो हिसाव हेर्नै चाहदैनन् । मसँग सरोकार थिएन भन्छन् रे । नेतृत्वमा बसेका व्यक्तिले हिसाव मिलानमा सघाउ पु¥याउनु पर्छ । पन्छिदिएर हुँदैन । यो फेरि ठूलो कुरा हो जस्तो लाग्दैन । त्यतिबेला बनेका उपसमितिलाई जिम्मेवार बनाउने बित्तिकै हिसावको कुरा टुंगिहाल्छ । बिल लगेर पैसा नदिने कर्मचारीहरु त अहिले पनि राखेपमै रहेका छन् ।
खेलकुदको मुख्य मान्छेले नेपालगञ्जमा बनेका करोडौका संरचना, जिल्लामा बन्दै गरेको संरचनाहरुको अनुगमन, निरीक्षण र चासो देखाइदिनु पर्छ नै । यो कुरालाई नेपालगञ्जवासीले गम्भीरतापूर्वक हेरिरहेका छन् । एक पटक हेर्नसम्म नआएका सदस्य सचिवले यहाँ बनेका संरचनाहरु संरक्षणमा कतिको ध्यान देलान् भन्ने प्रश्नहरु उठ्न थालेको छ । भन्न त कतिपयले सागले गर्दा आउन नपाएको भन्छन् । त्यसो हो भने साग सिधिएको पनि धेरै भइसक्यो, खोइ त सदस्य सचिवको नेपालगञ्जको संरचनाहरुप्रति चासो ?
हतारमा भएको आठौं राष्ट्रिय खेलकुदलाई केही पदाधिकारी नै रोक्न चाहन्थे । तत्कालिन सदस्य सचिव केशव विष्टले पेलेर आफ्नो कार्यकालमा गराए भन्ने गरिन्छ । हतारमा गर्नु हुँदैन भन्नेहरुले सदस्य सचिवलाई नेपालगञ्जमा पत्रकारदेखि धेरै रुष्ट छन् । जादा बेइज्जत हुन सक्छ भनेर उकासेको आकलन गर्ने पनि रंगशाला परिसरमा भेटिने गरेका छन् ।
खेलसम्बद्धले गरेका आकलनहरुमा धेरथोर सत्यता देखिन्छ । तर, सदस्य सचिवले नेपालगञ्जमा बनेका संरचना, जिल्लामा बन्दै गरेका अन्य संरचनामा चासो दिनु पर्छ भन्ने जिल्लावासीको माग रहदै आएको छ । हुन त, सदस्य सचिवको आउनै पर्ने औपचारिक कार्यक्रम नेपालगञ्जमा नभएर पनि नआएको हुन सक्छ । कुरा यहाँ बनेका र बन्दै गरेको भौतिक संरचनाप्रति सदस्य सचिवको किन चासो भएन भन्ने नै हो । त्यसो त खेलकुद मन्त्री पनि आठौंपछि नेपालगञ्ज फर्केर आएका छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !