पृथ्वीजयन्तीमा बिदा दिए के हुन्छ ?
नेपालगञ्ज – नेपालगञ्जमा पृथ्वीजयन्तीमा बिदा दिने कि नदिने भन्ने बहसको विषय बनेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले बोर्ड बैठकमै पृथ्वीजयन्तीमा बिदा दिने प्रस्ताव गर्नु भएको छ । पृथ्वीनारायण शाह राष्ट्रिय व्यक्तित्व भएकाले उनको सम्मानका लागि बिदा दिनु पर्ने मेयर राणाको प्रस्ताव थियो ।
वडामहाराज पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका पिता मान्ने गरिन्छ । गणतन्त्र घोषणा पछि पृथ्वी जयन्ती ओझेलमा पर्ने गरेको छ । अरु ठाउँमा जे भएपनि नेपालगञ्ज उपमहानगरपालिकामा पृथ्वी जयन्ती भब्य रुपमा बनाउनु पर्ने मेयर राणाको प्रस्ताव थियो ।
तर, बोर्ड बैठकमा त्यस विषयमा निर्णय हुन सकेन । कांग्रेस र समाजवादी पार्टी तटबन्ध बसिदियो । नेकपाले स्थानीय तहबाट मात्रै बिदा दिदा पृथ्वीनारायण शाहको अपमान हुने जिकिर ग¥यो । अन्ततः पृथ्वीजयन्तमा बिदा दिने निर्णय हुन सकेन ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले पृथ्वीजयन्तीमा बिदा दिने प्रस्तावमा एकरुपता नआएको बताउनुभयो । ‘राप्रपा प्रस्तावक बन्यो । कांग्रेस र समाजवादी पार्टी तटस्थ बस्यो, नेकपाले संघ र प्रदेशले नै बिदा दिंदा राम्रो हुन्छ भन्ने धारणा राख्यो, प्रवक्ता रिजालले भन्नुभयो, मेयर सा’पको प्रस्तावमा बहुमत हुन सकेन ।’
राप्रपाले पृथ्वी जयन्तीलाई भब्य रुपमा मनाउनु पर्छ । बिदा दिनु पर्छ भन्ने लबिङ गर्दै आएको छ । राप्रपाका महामन्त्रीसमेत रहेका नेपालगञ्जका मेयर राणाले राष्ट्रिय विभूतिलाई अरुले नसम्झिएपनि आफूहरुले सम्झिनु पर्ने बताउनु भएको थियो ।
नेपालगञ्जका २३ वटा वडामा राप्रपाले तीन वटामा जितेको छ । राप्रपाले जितेको वडाका अध्यक्षले आफूहरुले पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिने बताएका छन् ।