‘फेसबुके लबर’को जोखिम यात्रा

नेपालगञ्ज – पहाडकी सोझी केटी । फेसबुक चलाउँथिन् । बाँकेका छट्टु केटाले साथी हुन अनुरोध पठायो । केटीले अनुरोधलाई स्वीकार गरिन् । सामान्य चिनजान कुराकानी हुन थाल्यो । साथी भएको पाँच महिनामा उनीहरुको गहिरो लब नै पर्यो ।
बाफ रे, लब पनि कति गहिरो । एक अर्का बिना बाँच्नै नसक्ने रे । वास्तवमा केटीले चोखो माया नै गरेकी थिइन् । सोझो मान्छेले बाह्र सत्तरी जान्दैन, सोच्दैन पनि । त्यसमा पनि दैनिक फेसबुकमा कुराकानी हुँदा मिठो कुरा गर्ने केटा थियो । केटीलाई भ्रममा पारेको थियो ।
छैठौ महिना लाग्दै गर्दा दुवै जना प्यारमा फिदा भइसकेका थिए । विवाह गर्ने टुंगोमा पुगे । केटाले चाहेको थियो नै त्यही । केटी बाँके आइन् । चार दिन यहाँ बसेपछि भारतमा जान निस्किए । नेपाली नाका पार गरेपनि उनीहरु भारतमा समातिए । केरकार भयो । केटा विवाहित थियो । सोझी केटीलाई मायाको जालमा पारेर जोखिमपूर्ण यात्रामा निस्केको थियो । दुवैलाई नेपालगञ्ज ल्याइयो । केटीलाई सम्झाइयो । उसले भारतमा लगेर बेच्न सक्छ, अप्ठेरोमा पार्न सक्छ भनियो । विवाह भएर पनि भएको छैन भनेर ढाँटेको सम्झाइयो । केटीले गल्ती महसुस गरिन् । दुवैलाई अभिभावकको जिम्मा लगाइयो ।
अब अर्को विश्वास शब्दप्रति नै अविश्वास जगाउने फेसबुके लब हेर्नुस् । यसमा पनि केटाले रिक्वेष्ट पठाउँछ । केटीले एसेष्ट गर्छिन् । नाम, घरठेगाना सोधपुछबाटै कुराकानी अघि बढ्छ । एक दिन कुरा हुन्छ, अर्को दिन हुन्छ । एक दिनमा एक पटक होइन, पटक–पटक कुरा हुन थाल्छ । ६ महिनामा यी दुई पनि छुट्टिनै नसक्ने हुन्छन् । केटी अलि टाढाकी हुन्छिन् । केटा उसलाई लिन नै पुग्छ । भेटेर होटलमा बस्छन् । सँगै बाँके आउँछन् । फेसबुकमा चिनजान भएको केटालाई सबथोक ठान्छिन् । जन्म दिने आमाबुवा, घरपरिवार भन्दा त्यो फेसबुके चिनजानको व्यक्ति प्यारो हुन्छ । विश्वासिलो हुन्छ ।
काम गरेर भारतमै बस्ने भन्दै दुवै जना नेपालगञ्ज नाकाबाट भारत छिर्छन् । भारतमा पुगेपछि केही दिन त राम्रैसँग बस्छन् । केटाको नियत सही थिएन । उसले केटीलाई ‘बेश्या’ बनाएर पैसा असुल्ने सुरसार कस्छ । केटी (श्रीमती नै भनौ) लाई धेरै पैसा कमाउनु पर्छ । तिमीले मैले भनेको जस्तो गर भन्दै कोठामै बेश्यालय चलाउने कुरा गर्छ । आफैले ग्राहक खोजेर ल्याउने भन्छ । केटीले अस्वीकार गर्छिन् । त्यसपछि उसले कुटपिट शुरु गर्छ । केटीलाई बन्धक बनाएर धन्दा चलाउँछ । दिनभरी ग्राहक खोजेर ल्याउँछ र आफ्नै श्रीमती बसेको कोठामा हुल्छ । २८ औं दिन केटीलाई छिमेकीले भगाइदिन्छन् । केटीले नेपाल आएर मुद्दामामलो त गरेकी छन् । तर, केटा फरार रहेको छ ।
यी दुई त उदाहरणमात्रै हुन् । नेपालगञ्जमा केही दिन बिराएर फेसबुके लबरहरु भेटिन्छन् । फेसबुकमा लब गरेर अर्काकी श्रीमती लिएर हिड्नेलाई नाकाबाट फिर्ता गर्दा गर्दै हैरानै छन्, मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरु । अझ यस्ता फेसबुके लबरले नाकामा प्रहरी र संघ संस्थाका प्रतिनिधिसमक्ष कतिसम्म झुट बोल्छन् सोझो मान्छेले कल्पना गर्नै सक्दैन । बिरामी भएर उपचार गर्न जान थालेको, बोरा बोकेर सामान किन्न जान थालेको, आफन्तलाई भेट्न जान थालेको, कामका लागि जान थालेको के–के हो, के–के बहाना गर्छन् । फेसबुकबाट नै सेटिङ मिलाएर बैदेशिक रोजगारमा पठाउने धन्दा पनि कम छैन । दलालले प्रलोभनमा परेर यसरी बैदेशिक रोजगारमा जान थालेकाले त नाकामा बस्ने संघ संस्थाका प्रतिनिधिलाई कुट्लाजस्तो गर्छन् । खाडीमा जादा आफू जोखिममा पर्छु भन्ने उसलाई चिन्ता देखिदैन । हामीलाई किन रोकेको भन्ने रिस हुन्छ ।
नेपालगञ्ज नाकाबाट वर्षेनी हजार आसपासलाई जोखिमपूर्ण यात्रा गरेको भन्दै घर फिर्ता गरिन्छ । जोखिमपूर्ण यात्रामा रहेकालाई घर फिर्ता गर्न माइती नेपाल, शक्ति समूह, आफन्त नेपाल, ज्ञान नेपाल, साना हातहरु लागि परेका छन् । नाकाबाट फिर्ता हुनेमा फेसबुके लबरको संख्या पनि उल्लेख रहने गरेको छ । वाह रे फेसबुक !


error: यो सुविधा उपलब्ध छैन !