फेरिदै कर्णाली अर्थात ‘बघौडा’

नेपालगञ्ज – वर्षौदेखि कर्णाली अर्थात पिछडिएको क्षेत्रको उपनाम पाइरह्यो । खाल्टाखुल्टी बाटोले गिज्याइरह्यो । ‘आपत’ पर्दा भारतीय बाटो भएर जानु पर्ने भएपछि मान्छेहरुले बघौडालाई कर्णाली नभनुन् पनि किन ?
हो, त्यही बघौडा अर्थात नरैनापुर गाउँपालिका पछिल्लो समयमा ‘सुगम’ हुँदै गएको छ । समय परिवर्तनशील हुन्छ नै । बघौडा पनि परिवर्तनकै रफ्तार अघि बढेको छ । पुच्छरको केही किलोमिटरलाई छोडेर बाटो बनिसकेको छ । केही महिनामै नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा रहेको बघौडा गाडीमा एक घण्टाको दुरीमा परिणत हुँदैछ ।
डेढ दशक अघि राप्ती नदीमा पुल बनेपछि बघौडा नेपालगञ्जसँग जोडिएको थियो । तर, त्यसपछि पनि बाटो नबन्दा बघौडाले नेपालगञ्जलाई अपनत्व महसुस गरेन । किनमेल, उपचार गर्न भारतीय शहर मात्रै रोजिएन, बघौडामै नेपाली पैसा नचल्ने अवस्था रह्यो ।
अहिले बघौडा फेरिएको छ । सदरमुकाम नेपालगञ्ज नजिक आइपुगेको छ । नरैनापुरका रामसुरत यादव भन्छन्, ‘बाटो बन्यो । नेपालगञ्ज नजिक भएको छ ।’

नरैनापुरको लक्ष्मणपुरमा बनेको प्राथमिक स्वास्थ्य केन्द्र । जसलाई अस्पतालको रुपमा विकास गरिदैछ ।

बघौडाको समस्या भनेको विद्युत हो । विद्युतको समस्या समाधान हुन सकेको छैन । २०५६ सालको चुनावताका गाडिएका पोलले अहिलेका जनप्रतिनिधिलाई गिज्याइरहेको छ । शिक्षा र स्वास्थ्यमा अझै पछाडी नै छ । जनप्रतिनिधि आएपछि यसमा केही सुधार भएको छ । गाउँमा आधुनिक प्राथमिक स्वास्थ्य केन्द्र बनेर अस्पतालको रुप धारणा गर्दैछ । बैंक पुगिसकेको छ । बालबालिकालाई स्कूलको पहुँचमा पु¥याउने प्रयासहरु भइरहेका छन् । आफ्नो ठाउँकै मान्छे पढेलेखेको नभएसम्म त्यो गाउँको विकास हुन सक्दैन भन्ने रटानमा रहेका गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले शिक्षामा जोड गरिरहेका छन् ।
बघौडालाई हेर्ने कर्मचारीको नजरिया अझै पुरातनवादी नै रहेको छ । जानै नमान्ने र गइहाले पनि केही समय बसेर सरुवा मिलाइहाल्ने कर्मचारीको पाराले बघौडा वर्षौदेखि पीडित बनेको छ । बघौडामा बनेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक टिकाउन नसक्नु यसको गतिलो उदाहरण मान्न सकिन्छ । बल्ल–बल्ल एकजना डाक्टर त्यहाँ पुगेपनि केही समयमै उनले लक्ष्मणपुर छोडेका थिए । त्यसपछि निमित्तको घरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेको छ । अझ त्यहाँ नै आँखा अस्पताल सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष शाहको योजना रहेको छ ।


लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको चर्चा नेपालगञ्जमा नहुने होइन । एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का जिज्ञासा राख्दै थिए, ‘उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव थिए । त्यही पार्टीबाट नेपालगञ्जका मो. इस्तियाक राई मन्त्री थिए । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव त्यही पार्टी र बघौडाकै छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष पनि एउटै पार्टीका हुन् । तर, पनि एउटा स्वास्थ्य केन्द्रमा डाक्टर पठाउन किन सकिएन ? स्वास्थ्यमन्त्रीले चाहेको भए एकजना डाक्टर पठाउन नसकिने हुन्थ्यो होला र ?’ अहिले यादव र राई मन्त्री छैनन् ।
बघौडाले समस्यासँग जुध्दै अघि बढिरहेको छ । बघौडालाई राप्ती नदीले पीडा दिइरह्यो । त्यसको समाधान हुँदै गएको छ । मोबाइल नलाग्ने समस्या समाधान भइसकेको छ । परिवर्तन हुँदै गएको बघौडा अब नरैनापुर गाउँपालिकाको परिचयले अगाडि लम्किदै गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !