नेपालगञ्ज र राणा परिवार

नेपालगञ्ज – नेपालगञ्ज एउटा पुरानो शहर हो । यहाँ राणा परिवारको बसोबास थोरै छ । एक दर्जन राणा घरपरिवार यहाँ बस्छन् । तर पनि यहाँको नेतृत्व पंक्तिमा उनीहरुको उपस्थिति महत्वपूर्ण रहदै आएको छ ।
मसुरीशमशेरको परिवारबाट गीता राणा र धवलशमशेर नेपालगञ्जको मेयर भएका छन् । महिला नेतृ अम्बिका राणा पनि त्यसै परिवारकी हुन् । पिताम्बरजंगका छोरा योगाम्बरजंग राणाले तत्कालिन चट्टार गाउँपञ्चायतको प्रधानपञ्चको रुपमा नेतृत्व गर्दै जिल्ला पञ्चायत सदस्यसम्म भएका थिए । जुद्धजंगका सन्तान ओमप्रकाशजंग राणा र उनकी श्रीमती विजया राणा नेपालगञ्जको राजनीतिमा सक्रिय नामहरु हुन् । ओमजंग दुई कार्यकाल जिल्ला विकास समिति, बाँकेको सभापति बने । उनकी श्रीमती विजया पञ्चायत र प्रजातान्त्रिक काल गरी पुरैनीको नेतृत्वमा रहिन् । राजजंगका बुहारी श्यामन्तजंग राणाको परिवार नेपालगञ्जको राजनीतिको महत्वपूर्ण स्थानमा थिए । श्यामन्त जिल्ला विकास समितिको सदस्य भएकी थिइन् ।
त्यसो त नेपालगञ्जमा राणाहरुको आगमन चन्द्रशमशेरको पालाबाट भएको हो । चन्द्रशमशेर बम्बई गएका बखत भारतमा रहेका जंगबहादुरका खलकले ‘हामी भारतमा कति दुःख पाएर बस्ने ?’ भनेपछि चन्द्रशमशेरले जंग खलकलाई त्यसबेलाको कालापानी ठानिने ‘नयाँ मुलुकमा गएर बसोबास गर’ भनेका हुनाले सर्वप्रथम जंगबहादुरका छोरा जुद्धजंग नेपालगञ्ज आएका थिए । जुद्धजंगले नेपालगञ्जमा कोलियर कम्पनीले छोडेर गएको आरा मिल सञ्चालन गर्न खोजेका थिए । तर सफल हुन सकेनन् । त्यसपछि पदमजंगका छोरा पियुसजंग इलाहावादबाट आएर सो आरा मिल चलाउने प्रयत्न गरे । उनी पनि सफल हुन सकेनन् । जुद्धजंगले चन्द्रशमशेरबाट पाँच सय विगाह बिर्ता पाएका थिए । त्यसमध्ये केहीमात्रै जग्गा भोगचलान गरेर पुरैनीमा बसोबास गरेका थिए । उनी पछि नेपालगञ्जमा जगतजंगका छोरा राजजंग अयोध्याबाट आइ बसे ।
१९९० सालको वरिपरि मसुरीशमशेर, उनका भाइ बहादुरशमशेर नेपालगञ्ज आए । मसुरीशमशेरले जुद्धशमशेरको पालामा बनेको कम्पनी ऐन अनुसार महाकाली मिल खोली नेपालगञ्जमा उद्योगको स्थापना गरे । जुद्धशमशेरले १९९१ सालमा वीरशमशेरका छोरा रुद्रशमशेरलाई पाल्पा धपाउनु अघि उनका छोराहरु राजशमशेरलाई बाँके र मेघराजशमशेरलाई बर्दियाको वडाहाकिम बनाएर पठाएका थिए । राजशमशेर र मेघराजशमशेरले फूल्टेक्रामा आधुनिक किसिमको दरबार बनाए । राजशमशेरको दरबारलाई राजभवन (बीचकोठी) र मेघराजशमशेरको दरबारलाई मेघालय (पिलीकोठी) भनिन्थ्यो, भनिन्छ । राजशमशेरले नै आफ्ना ज्वाई कप्तान फत्तेजंग शाहको दरबार पनि आफ्नै दरबारजस्तै बनाउन लगाइदिएका थिए । कप्तान फत्तेजंग शाहको दरबार र मेघालयको बीचमा भएकाले राजभवनलाई बीचकोठी भन्ने गरिन्थ्यो । त्यस्तै मेघालयमा पहेलो रंगको धेरै प्रयोग भएकाले त्यसलाई पिलीकोठी भन्ने गरिएको हो ।

कप्तान फत्तेजंग शाहको पुरानो दरबार । यो दरबार पनि राजशमशेरको दरबार राजभवन (बीचकोठी) र मेघराजशमशेरको दरबार मेघालय (पिलीकोठी) जस्तै डिजाइनमा बनेको छ । कप्तान फत्तेजंगले यो दरबारसहितको जग्गा फत्तेबाल आँखा अस्पताललाई दिएका छन् ।

इलाहाबादबाट पदमजंगका छोरा पिताम्बरजंग राणा रामबागमा दरबार बनाएर बसे । त्यस्तै, बद्रीनरसिंहका सन्तान शमशेरनरसिंहले सदरलाइनमा दरबार बनाए । सदरलाइनमा उनको दरबार भएको हुनाले शमशेरनरसिंहलाई बजार बाउसाप भन्ने गरिन्थ्यो । उनकै दाजुभाइ भुपेन्द्रनरसिंह राणाको आमा बागेश्वरीको पश्चिमपट्टी दरबार बनाएर बसेकी थिइन् । भुपेन्द्रनरसिंह राणा र नरेन्द्रनरसिंह राणा दुई भाइमध्ये भुपेन्द्र बम्बई गएर फिल्म उद्योगमा काम गरेका थिए । उनको सहनिर्देशनमा बनेको २–४ वटा फिल्ममध्ये एउटा फिल्म मैले पनि लक्ष्मी चित्रमन्दिरमा हेरेको थिए । जसमा उनलाई सहनिर्देशक बाबाराजा भनेर लेखिएको थियो । उनी बाबाराजाको नामले नै प्रसिद्ध थिए । उनी उतै बसे । उनको भाइ नरेन्द्रनरसिंह नेपालगञ्ज वनजाँच कार्यालयमा काम गर्दथे । जंगबहादुरका छोरा हर्कजंग पञ्चावको पटियालामा बसोबास गर्दथे । उनका दुई छोरीहरु जुद्धकुमारी मैया र चन्द्रकुमारी मैया घरबारीटोलमा बसोबास गर्थे । जुद्धकुमारी मैयाको विवाह नेपालगञ्जका ख्यातीप्राप्त मित्रराज शाहीसँग भएको थियो । मित्रराज शाही कैलालीका जमिन्दार थिए । चन्द्रकुमारी मैयालाई नेपालगञ्जमा पञ्जाब्नी मैया भनेर चिनिन्थ्यो । उनका दुई छोरामध्ये एकजना भारतीय आर्मीका उच्च पदस्थ थिए । अर्का छोरा सर्वोच्च अदालतका न्यायाधीश भएका थिए । राणाकाल र प्रजातन्त्रपछि पनि यी परिवारहरु नेपालगञ्जका गन्यमान्य मानिन्थे ।
नेपालगञ्जको निर्माण, विकासमा यिनीहरुसँग सल्लाह र सहयोग लिने गरिन्थ्यो । सम्पूर्ण बर्दिया जिल्ला जंगबहादुरका ६ भाइ छोराका नाममा बिर्ता भएपनि पछि शमशेरहरुले खोसेका थिए । पछि चन्द्रशमशेरको पालामा मात्र यी परिवारहरु नयाँ मुलुकको नेपालगञ्जमा बसोबास गर्न आइपुगेका थिए । राजजंगका सन्तान राणा कृष्णजंग नेपालगञ्जको मलेरिया उन्मूलनमा हाकिम भएर आएका थिए । नेपालगञ्जको साहित्य र संस्कृतिमा उनको योगदान रहेको छ । उनले बागेश्वरी मन्दिरमा गणेशको मूर्ति र बाँकेबगियामा सरस्वतीको मन्दिर निर्माण गराएका थिए । नेपालगञ्जबाट एमबीबीएस गर्ने पहिलो डाक्टर उनी नै हुन् । उनी धेरै वर्षसम्म डब्लुएचओको पदाधिकारी भई विभिन्न देशमा काम गरेका थिए । संक्षेपमा भन्दा नेपालगञ्जमा राणा परिवार थोरै भएपनि महत्वपूर्ण रुपमा नै देखा परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !