उपचार खर्च १५ लाख, क्षतिपूर्ति २५ हजार

नेपालगञ्ज – ‘गरीवलाई सबैतिरबाट अन्याय भयो हजुर’, खजुरा–५, रजनवागाउँका कैलाश मौर्यले भन्नुभयो, ‘१५ लाख रुपैया खर्च गरेर बल्ल–बल्ल बाँचे । न्यायालयले समेत क्षतिपूर्ति दिलाउदा कन्जुस्याई गर्यो । २५ हजार रुपैया क्षतिपूर्ति तोकिदियो ।’
कैलाशलाई न्यायालयले मात्रै होइन, प्रहरीले बिल पेश गर्दा नै अन्याय गरेछ । लखनऊमा एक महिना १३ दिन उपचार गर्दा १५ लाख रुपैया खर्च भएकोमा प्रहरीले एक लाख २५ हजार भारुको बिल मात्रै लिएको कैलाशले बताउनुभयो । ‘प्रहरीले पेश गरेको बिलको पैसा पनि अदालतले दिलाइ दिएन, कैलाशले भन्नुभयो, ‘हामी त सबैतिरबाट पीडित भयौ । आक्रमणकारीले अझै मार्छु भनिरहेको छ ।’
कैलाशको घटना यस्तो थियो । २०७५ कात्तिक ८ गते राती साढे आठ बजे खेतमा पानी हालिरहेको बेलामा कैलाशलाई आफन्त नै पर्ने छिमेकी राजित मौर्य र उनका ज्वाई राजु मौर्यले सांघातिक आक्रमण गरेका थिए । राजित र राजुको चक्कु प्रहारबाट कैलाशको गर्धनको नसा काटियो । घटनालगत्तै उपचारका लागि नेपालगञ्ज र कोहलपुर नर्सिङहोम लगिएको थियो । त्यहाँबाट भारतको लखनऊ लगियो । शुरुमा मेडलाइफमा र पछि केडियम अस्पतालमा उपचार गरिएको थियो । कैलाशको अहिले बाया हात र खुट्टा कम चल्ने भएको छ ।


लखनऊमा एक महिना १३ दिन उपचार गरेर फर्किदा आक्रमणकारी राजित दुई लाख रुपैया धरौटीमा छुटिसकेका थिए । राजु अझै थुनामा रहेका छन् । एक हप्ता अघि पुस १३ गते अदालतले राजु र राजितलाई दुई÷दुई वर्ष कैद, २५ हजार क्षतिपूर्ति र दश हजार रुपैया जरिवाना तोकेको छ । ‘अदालतले उपचारमा लागेको खर्चसमेत भराइदिएन । उहाँ काम गर्न नसक्ने हुनु भयो । कसरी तीन सन्तानको लालनपालन गर्ने ?’ श्रीमती रिता मौर्यले भन्नुभयो, भएको जग्गा बेचेर उपचार गरियो । अदालतले उपचारको खर्चसम्म क्षतिपूर्ति दिलाइदिएको भए राहत मिल्थ्यो ।’
कैलाश कतार बसेर फर्किएका थिए । त्यही कमाईले सडकछेउमा तीन कठ्ठा जमिन जोडेका थिए । अहिले उपचारमा त्यो जग्गा बेचिसकियो । अब सगोलको केही जग्गा बाँकी छ । एक त प्रहरीले सबै बिलको मुचुल्का गरिदिएन । प्रहरीले मुचुल्का उठाएको जति बिलको पैसा पनि अदालतले क्षतिपूर्ति स्वरुव दिलाइदिएन ।
कैलाशको अहिले पनि औषधी चलिरहेको छ । जग्गाजति बेचेर सकियो । अब कसरी उपचार गर्ने घरपरिवारलाई तनाव भएको छ । ‘न्यायालयले त हाम्रो पीर मर्का बुझिदिनु पथ्र्यो, त्यसो हुन सकेन ।’ कैलाशका जेठान रामनिवास मुराउले भन्नुभयो ।
त्यो दिन राजित र राजुले कैलाललाई विवाद बिना नै आक्रमण गरेका थिए । उनीहरुको झगडा र विवाद कैलाशका दाजु चेतराम मौर्यसँग थियो ।
अदालतले पीडितले भने अनुसार वा प्रहरीको मुचुल्का अनुसार नै क्षतिपूर्ति दिन्छ ? अधिवक्ता लोकबहादुर शाहीले भन्नुभयो, त्यस्तो हुँदैन । अदालतले मनासिव क्षतिपूर्ति दिलाइदिन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !