१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकारको प्रदेश साधारण सभा

बर्दिय – १२ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश समितिको प्रथम साधारणसभा सकिएको छ । बर्दियाको ठाकुरद्वारामा आयोजित साधारणसभाको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको थियो
साधारणभामा ५ नं. प्रदेशअन्तर्गत १२ जिल्लाका दुई सय बढि पत्रकार सहभागी भएका थिए ।
साधारणसभा पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेतले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेश वलीले पेश गरेको आर्थिक प्रतिवेदनमाथी ब्यापक छलफल गरी पास गरिएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ ठाकुरद्वारा घोषणा पत्र–२०७६
नेपाल पत्रकार महासंघ ५ नं प्रदेश कार्यसमितिको आयोजनामा वर्दियाको ठाकुरद्धारामा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र ५ नं प्रदेशका १२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रदेश पार्षदहरुको सहभागितामा २०७६ पौष १६ र १७ गते सम्पन्न पत्रकार महासंघ प्रदेश ५ को साधारण सभा देशमा पत्रकारमाथी भैरहेको आक्रमण र प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना प्रति गहिरो चिन्ता र सरोकार प्रकट गर्दै देहायको घोषणापत्र जारी गर्दछ ।

१) सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका प्रावधानले संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको भावना कुण्ठित हुने देखिएकोले त्यस विधेयकलाई महासंघ लगायत सरोकारवालासँग व्यापक छलफल गरी नेपाल पत्रकार महासंघसँग भएको सहमति अनुसार परिमार्जन गर्न सरकारसँग यो भेला जोडदार माग गर्छ । साथै, प्रदेश र स्थानीय तहसम्म सञ्चार सम्बन्धी कानुनहरु बनाउन जरुरी रहेकाले आवश्यक कानूनहरु पत्रकार महासंघ लगायत सरोकारवालासंग पर्याप्त छलफल र परामर्श गरि कानुनहरु निर्माण गर्न यो सभा माग गर्दछ ।
२) प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागु गर्ने सवालमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकुल परिमार्जन गरी कार्यान्वयन गर्न पनि यो भेला सरकारसंग माग गर्दछ ।
३) प्रेस काउन्सिल नेपालबाट हुँदै आएको पत्रपत्रिका वर्गिकरण तथा नियमन कार्य प्रदेशस्तरबाट गर्ने व्यवस्था गर्न यो सभा जोडदार माग गर्दछ । साथै प्रदेशस्तरबाटै पत्रकार परिचय पत्र वितरण र जिल्लाबाट नविकरणको व्यवस्था मिलाउन भेला माग गर्दछ । अनलाईनहरु जिल्लामै दर्ता तथा नविकरण तथा नियमन गर्ने संयन्त्र स्थापनाको पनि यो सभा माग गर्दछ ।
४) सरकारले सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शुल्क समयानुकुल वृद्धि गर्न र भुक्तानी जिल्लावाटै प्रदान गर्ने व्यवस्था मिलाउन पनि यो सभा माग गर्दछ ।
५) पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि प्रादेशिक स्तरमा आमसञ्चार प्रतिष्ठान अविलम्व गठन गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षासंगै उनीहरुका लागि सञ्चार उपकरण खरिदमा सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई यो सभा आग्रह गर्दछ ।
६) नेपाल पत्रकार महासंघको विधानमा व्यवस्था भएवमोजिम नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई प्रदान गरिएको अधिकार क्रमश कार्यान्वयनमा लैजाने वातावरण मिलाउन भेला केन्द्रिय समिति समक्ष जोडदार माग गर्दछ ।
७) पत्रकार आचारसंहिता प्रति प्रतिवद्ध रहन सवै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्या्दित र व्यवसायीक वनाउन सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीमा यो भेला आग्रह गर्दछ । पत्रकारितामा क्रियाशिल नरहेका र अन्य व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई स्वघोषणा गरि महासंघको सदस्यता त्याग गर्न र शुद्धिकरण अभियानमा सहयोग पु-याउन सबैमा यो भेला हार्दिक आग्रह गर्दछ ।
८) स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपिल गर्दै यो भेला समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।
९) पत्रकार महासंघलाई पूर्ण समावेशी वनाउन महिला, दलित, जनजाति, मधेशी लगायत समाजका सवै पक्षलाई समेटने गरी संख्यात्मक तथा गुणात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन केन्द्रिय समितिलाई यो भेला अनुरोध गर्दछ ।
१०) सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भब्यरुपमा सफल पार्न यो वर्षभर यस प्रेदशका सवै शाखा र सदस्यले सक्रियता देखाउने प्रतिवद्धता व्यक्त गदै साधारण सभा यस प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ״शाखा भेटघाट कार्यक्रम״ संचालन गरी १२ वटै शाखाले कम्तीमा प्रदेशका सवै शाखामा एकपटक भेटघाट र भ्रमण गर्ने कार्यक्रम तय गर्न अनुरोध गर्दछ ।
११) प्रदेश नं. ५ को प्राकृृतिक रुपले सुन्दर प्रमुख पर्यटकीय क्षेत्र ठाकुरद्वारामा नेपाल पत्रकार महासंघ ५ नं प्रदेश साधारण सभाको संयोजन र व्यवस्थापन गर्ने नेपाल पत्रकार महासंघ वर्दिया र बाँके शाखा साथै साधारणसभा सफलतापुर्वक सम्पन्न गर्न अहोरात्र खटनुहुने सम्पुर्ण पत्रकार साथीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, पर्यटन ब्यवसायी, लगायत लाइ यो साधारणसभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१२) यो सम्मेलन प्रदेशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र ठाकुरद्वारा सहित समग्र ५ नं प्रदेशको पर्यटकीय विकासमा उचित ध्यान दिन प्रदेश सरकार र सवै स्थानिय तहसँग हार्दिक आग्रह समेत गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !