भ्रमण बर्ष २०२० र साइकल पर्यटन

 

सरकारले २०२० लाई भ्रमण बर्षका रूपमा मनाइरहदा नेपालगञ्ज साइक्लिङ्ग क्लबले आयोजना गर्न गइरहेको ‘टुर दि रारा’ अर्थात नेपालगञ्जदेखि मुगुको रारा तालसम्मको साइकल यात्रा एक महत्वपूर्ण कार्यक्रम हुनेछ ।
नेपालगञ्जलाई अन्तर्राष्ट्रिय एरिनामा स्थापित गर्ने लक्ष्य र उद्देश्य सहित नेपालगञ्ज उपमहानगरले यो कार्यक्रमलाई सघाउँदै छ, यस कार्यक्रममा विभिन्न मुलुकका साइकल राइडर्सलाई नेपालगञ्ज निम्त्याएर नेपाल चिनाउने एउटा महत्वपूर्ण इभेन्टका रूपमा यो कार्यक्रम गर्न गइरहदा पश्चिम नेपाल कै ठूलो कार्यक्रमका रूपमा यो स्थापित हुनेछ ।
जसरी फ्रान्समा प्रत्येक बर्ष आयोजना हुने ‘टुर दि फ्रान्स’ मा सहभागिता जनाउन विभिन्न मुलुकबाट हजारौं मानिसहरू फ्रान्स पुग्छन् अनि फ्रान्सको पर्यटनको एउटा महत्वपूर्ण कार्यक्रम बन्ने गरेको छ टुर दि फ्रान्स ठिक त्यस्तै सोचाइका साथ साइकलका माध्यमबाट हजारौं पर्यटक नेपाल भित्रिन सक्ने एउटा कार्यक्रम बन्न सक्छ टुर दि रारा । दक्षिण एशियाली र पूर्वी एशियाली मुलुकलाई मात्रै टार्गेट गरेर यो कार्यक्रम आयोजना गर्ने हो भनेपनि एउटा साहसिक एड्भेन्च्युअर साइकल यात्राले एशियाली मुलुकका पर्यटकका लागी नेपाल भित्र्याउने एउटा नयाँ ढोका खोल्न सक्छ ।
नेपालगञ्ज साइक्लिङ्ग क्लबले गतबर्ष २०७५ बाट शुरु गरेको ‘टुर दि ठाकुरद्वारा’ को दोस्रो संस्करण यस बर्षको माघ २४ र २५ मा गर्न गइरहेको छ, यो कार्यक्रम आन्तरिक पर्यटन प्रवद्र्धनमा बाँके र बर्दिया जिल्लाका लागी बिशेष हुनेछ । देशभरका साइकलप्रेमीहरु टुर दि ठाकुरद्वारामा सहभागिता जनाउन नेपालगञ्ज आउनेछन् र बाँके र बर्दियाका महत्वपूर्ण पर्यटकीय क्षेत्रको साइकल यात्रा गर्नेछन् उनीहरुको माध्यमबाट देशभर नै बाँके र बर्दियाका पर्यटकीय क्षेत्र को प्रचारप्रसार हुनेछ ।


बाँके राष्ट्रिय निकुञ्ज, नेपालगञ्जदेखि राप्तीपारी, नेपालगञ्जबाट भुवरभवानी मन्दिर, बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दियामा रहेको गेरुवा लामो पुल, कृष्णसार संरक्षण क्षेत्र बर्दिया, बाँसगढीको केदारेश्वर धाम, बढैयाताल, बाँकेको गाभर भ्याली होमस्टे, बर्दिया डल्ला होमस्टे, ठाकुरद्वारा मन्दिर अनि नेपालगञ्ज देखि कर्णाली चिसापानी, नेपालगञ्जदेखि देउराली हुँदै भेरिबबई डाइभर्सन नेपालगञ्ज केन्द्रित भएर साइकल पर्यटनका लागि महत्वपूर्ण ठाउँहरु हुन् ।
बाँके जिल्लामा यसरी जाने साइक्लिङ्गका रुटहरु बिकास गर्ने र यसका लागी नेपालगञ्ज आउने पर्यटकलाई आकर्षित गर्न सरकारी तवरबाट बिशेष कार्यक्रम आउन सके आन्तरिक पर्यटक त आकर्षित हुने नै छन् । साथमा, भारत को उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरू पनि भित्र्याउन सकिने प्रशस्त सम्भावनाहरु छन् ।
साइकल पर्यटनको एउटा महत्वपूर्ण आधार हो भन्ने कुरा बुझ्न जरुरी छ, माउन्टेन बाइकिङ्गमा रुचि राख्नेहरुको संख्या संसारभर वृद्धि भइरहदा त्यसको प्रभाव नेपाल, भारतलगायत एशियाली मुलुकहरूमा पनि बढिरहेको छ यसको प्रचुर फाइदा नेपालले उठाउन सक्छ अनि नेपालगञ्जलाई नै आधार बनाएर साइकल पर्यटनको बिकासका लागी दीर्घकालीन योजना तयार गर्ने हो भने नेपालगञ्जबाट सुर्खेत, दैलेख हुँदै रारा अनि डोल्पा जस्ता अतिनै सुन्दर ठाउँहरुले सजिलोसँग पर्यटकको ओइरो लाग्न सक्छ । यसको लागी प्रचारप्रसार, समन्वय र सरकारी र निजी तवरबाट सार्थक पहलकदमीको जरुरी हुन आवश्यक छ ।


error: यो सुविधा उपलब्ध छैन !