चेली हराउनेमा कोहलपुर अगाडि
नेपालगञ्ज – सन् २०१९ मा बाँकेबाट एक सय ८८ जना चेली हराए । त्यसमा धेरै कोहलपुर नगरपालिकाका रहेका छन् ।
माइती नेपाल, नेपालगञ्जले निकालेको तथ्यांकमा कोहलपुरबाट ६३ जना हराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाबाट ४३, बैजनाथबाट २५, खजुरा र राप्तीसोनारीबाट १९÷१९, डुडुवाबाट १२ र जानकी गाउँपालिकाबाट ७ जना महिला हराएका छन् ।
घरपरिवारले खोजतलासका लागि दिएको निवेदनका आधारमा यो तथ्यांक निकालिएको हो । बैदेशिक रोजगार या जोखिमपूर्ण यात्रामा गएकाले घरपरिवारको सम्पर्कमा नआएपछि खोजतलास तथा उद्धारको निवेदन परेको थियो ।
छिमेकी जिल्ला बर्दियामा बाँसगढी नगरपालिकाबाट बढी महिला हराएका छन् । बाँसगढीबाट २८ जनाको खोजतलासको निवेदन परेको छ । मधुवन १९, बढैयाताल १८, गुलरिया १५, बारबर्दिया ८, राजापुर ६, गेरुवा ४ र ठाकुरबाबाबाट एउटा खोजतलासको निवेदन परेको छ ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, यो वर्ष ८ सय ६९ जना महिला तथा बालबालिकाको खोजतलासको निवेदन परेकोमा २ सय ९७ जना फेला परेका छन् । खोजतलासको निवेदन धेरै पर्ने जिल्लामा सुर्खेत १४२, दाङ ८९, जाजरकोट ५८, रुकुम ५८, सल्यान ४२, जुम्ला २३, रोल्पा १६, प्यूठान १४ जना रहेका छन् ।
खोजतलासको निवेदन पर्नेमा समुदाय अनुसार हेर्दा ब्रम्हण क्षेत्री ३ सय ८५, दलित २६५, जनजाति एक सय ९९ र आदिवासी २० जना रहेका छन् । उमेरगत रुपमा हेर्दा १८ वर्षमुनिका ३ सय ३९ रहेका छन् ।
माइती नेपाल, नेपालगञ्जका प्रमुख कोइरालाले प्रायः बैदेशिक रोजगारीमा गएकाहरु हराएको बताउनुभयो । ‘बैदेशिक रोजगारमा गएकाहरु फर्केर नआएको, धेरै समयसम्म सम्पर्कमा नभएको वा अति नै दुःख पाएको भन्दै रोएर फोन गरेपछि हामीलाई खोजतलास र उद्धारका लागि सल्यनिवेदन दिने गरिन्छ, कोइरालाले भन्नुभयो, हामीले सकेसम्म उद्धार गर्छौ ।’
मानव बेचबिखनका लागि नेपालगञ्ज र बर्दिया नाकालाई दलालले प्रयोग गर्ने गरेको पाइन्छ । पछिल्लो दिनमा जोखिमपूर्ण यात्रामा जाने महिलाले झोलासमेत बोक्न छोडेका छन् । दलाल त उनीहरुसँग सँगै हुँदैनन् । कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका ८ सय ९६ जनालाई माइती नेपालले नाकाबाट फिर्ता गरेको छ । बेचबिखनविरुद्धमा कानूनी कारबाही भने कमै हुने गरेको छ । जोखिम परेका पीडितले नै प्रलोभनमा परेर दलाललाई बचाइदिने गरेको पाइन्छ । दलाललाई कारबाही गर्छु भनेर कस्सिने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिनुभयो ।