‘नेपालगञ्जको विकासमा हामीलाई गर्व छ’
नेपालगञ्ज – गाउँलेहरु ‘राजा’ नै भन्छन् । उनीहरुको लवज पनि राजपरिवारकैजस्तो छ । पुरैनीको मुख्य सडकदेखि दुई सयमिटर जति उत्तरतिर कच्ची बाटो हिडेपछि पुगिन्छ राजाको घर । अर्थात ओमजंग राणाको आनन्दबाग (तेज भवन) ।
ओमजंग श्री ३ जंगबहादुर राणाका पाँचौं पुस्ता हुन् । ओमजंगको परिवार झण्डै सवा सय वर्षदेखि पुरैनीमा बस्दै आएको छ । पुरैनी अहिले नेपालगञ्ज–२२ मा पर्छ ।
नेपालगञ्जलाई जंगबहादुर बसाएको शहर भन्ने गरिन्छ । सन् १८५७ मा लखनऊ विद्रोह दबाउन कम्पनी सरकारलाई सहयोग गरेवापत नेपालले नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता पाएको थियो । श्री ३ जंगले लखनऊको हजरतगञ्जको शैलीमा नेपालगञ्जको विकास गरेको मान्ने गरिन्छ । नेपालगञ्जको बस्तीविकासमा श्री ३ जंगको विशेष चासो थियो रे ।
जंगले बसाएको यही शहरमा उनका सन्तानहरु वर्षौसम्म गुमनाम बस्नु प¥यो । घरकै चार दिवालभित्र कुञ्जिएर बस्न बाध्य भए । ७५ वर्षका ओमजंग भन्नुहुन्छ, ‘हामी जंगका सन्तान हौ । शमशेरहरुले राज गर्दासम्म हामी बागी भयौ । हामीलाई च्यापेर राख्ने काम गरे ।’
वि.सं. १९४२ सालमा श्री ३ रणोद्दिपसिंहको हत्या गरेर धीरशमशेरका छोराहरु सत्तामा आएपछि जंगखलकको बिल्लीबाठ भयो । जंगका जेठो छोरो जगतजंगको मनहरामै हत्या गरियो । नाती युद्धप्रताप अंग्रेज राजदुताबास जाने क्रममा बाटोमा मारिए । जंगका केही छोरा अंग्रेज राजदुताबासमा गएर बाँचे त केही रातारात चार भन्ज्याङ्ग पार भएर ज्यान बचाउन सफल भए । जंगका नवौं छोरा जुद्धजंग ०४२ सालको काण्ड हुँदा थापाथली दरबारमै थिए । रणोद्दिपको हत्या भएको खबर पाएपछि उनी रातारात भागे । अमलेखगञ्ज पुग्दा उनी पक्राउ परे । वीरशमशेरका सैनिकले उनलाई नियन्त्रणमा लिए । जनरल जुद्धजंगले सैनिकलाई हजार रुपैया बक्स दिए । भोली जाम्ला भनेर फकाए । त्यो राती सैनिकलाई लठ्ठिने गरी मदिरा खुवाएर जुद्धजंग बेतिया पुगे ।
चन्द्रशमशेरको पालामा जुद्धजंगलाई नेपालगञ्जमा बस्ने अनुमति दिइयो । जुद्धजंग, अलखजंग, तेजजंग हुँदै ओमजंगसम्म नेपालगञ्जमै बसेका छन् । त्यतिबेला नेपालगञ्जलाई कालापानी भन्ने गरिन्थ्यो । औलोको जगजगी थियो । नेपालगञ्जलगायत तराईमा पठाउनु भनेको ठूलो सजाय हुन्थ्यो । शमशेरखलकको उदयपछि जंगखलकलाई कालापानीमै बस्न दिनु पनि ठूलो मानिन्थ्यो । किनकी, ०४२ मा जंगखलकलाई जहाँ भेटे त्यही मार्नु भन्ने आदेश थियो । अझ जुन दर्जाको व्यक्तिलाई मा¥यो, त्यही दर्जा पाइन्छ भन्ने उर्दी थियो ।
सबैका लागि समय सधैं बलवान हुँदैन । तरबारको बलमा जंगले ल्याएको सत्ता शमशेरमा पुग्दा फेरि किँचलो शुरु भयो । शमशेरखलकमा पनि भाइभाइमा फुट भयो । एबीसीमा वर्गीकरण गरियो । सीग्रेडका शमशेरहरु नेपालगञ्ज धपाइए । कोही वडाहाकिम भएर आए ।
ओमजंगका अनुसार, जुद्धजंगपछि देवशमशेरका छोरा मसुरीशमशेर नेपालगञ्ज आए । राजजंग आए । त्यसपछि नरसिंह र अरु शमशेरखलक आए । अहिले नेपालगञ्जमा जंगका चार परिवार, शमशेरका पाँच र नरसिंहका तीन परिवार बसोबास गर्छन् ।
नेपालगञ्जमा धपाइएका जंग, शमशेर र नरसिंह खलकमा कस्तो सम्बन्ध थियो ? ओमजंग भन्नुहुन्छ, ‘घाइते सबै एकै हुन् नि चाहे त्यो बाघ होस् वा हरिण । हाम्रो सर्वस्व हरण गरिएको थियो । शमशेरहरुको रोल काटिएको थियो । घाइते त हामी मात्रै हो र ? उनीहरु पनि थिए । हाम्रो सम्बन्ध राम्रै थियो । दशैंमा हाम्रो घरमा टीका लगाउन आउँथे, मरणहरुमा जान्थ्यौ । शमशेरहरुको पनि बेथा बिसाउने ठाउँ हाम्रै घर थियो ।’
०४२ सालको काण्डपछि जंगखलकमा ‘शमशेर मरे भने खसी काटेर खानु’ भन्ने थियो रे । त्यो जंगखलकको आक्रोश हुन सक्छ । नेपालगञ्जमा बस्न दिएपनि शमशेरहरुले जंगखलकलाई रुपैडिहासम्म जान दिदैनथे । वडाहाकिमको अनुमति लिनु पथ्र्यो । काठमाडौं जानु त परको कुरा थियो । जंग खलकलाई जबरा लेख्नेसमेत अनुमति थिएन । ओमजंगले अहिले पनि जबरा लेख्नु हुँदैन । उहाँको भनाई छ, हामी त वास्तविक जंगको खलक हौ नि किन लेख्नु प¥यो जबरा ?
राणाले देशलाई बर्बाद पारे । एक सय चार वर्षसम्म जंगका सन्तानले रजाँई गरे भन्दा ओमजंगको चित्त दुःख्छ । जंगखलकले शमशेरहरुले चलाएको शासनलाई जंगसँग जोड्न चाहदैनन् । ओमजंग भन्नुहुन्छ, ‘शाह राजाको प्रशासन फितलो थियो । जंगले शासनसत्ता आफ्नो हातमा लिएर राष्ट्रियता बचाएका हुन् । जंगबहादुर नभएको भए नेपाल स्वतन्त्र राष्ट्र नहुन सक्थ्यो ।’
जनरल जुद्धजंगले पुरैनीमा ९० विगाह पाएका थिए । ओमजंगका अनुसार, नेपालगञ्जको पुरानो बस्ती घरबारीटोल, गगनगञ्ज, गडियनपुरुवा, हिरमिनियाको पहाडीयनपुरुवा, भवानीपुर हुन् । पुरैनी त नेपालगञ्ज बजारदेखि टाढा थियो । किन त्यो ठाउँ रोजे जुद्धजंगले ? ओमजंगलाई लाग्छ, राप्ती नदी नजिक पर्छ । नदीको पानी खान पाइन्छ भनेर पुरैनीमा बसेको हुन सक्छ ।
शमशेरखलकविरुद्ध जंगबहादुरका छोरा रणवीरजंगले सैनिक विद्रोह गरेका थिए । सेना बनाएर विभिन्न ठाउँमा आक्रमण नै गरेका थिए । त्यो सफल हुन सकेन । ओमजंगका अनुसार, अंग्रेजले जंगखलकलाई साथ दिएन । जंगबहादुरसँग अंग्रेजको राम्रो दोस्ती भएपनि उनकै सन्तानले दुःख पाउदा र अधिकार माग्न थालेको विद्रोहलाई अंग्रेजले साथ दिएन । उल्टै जंगखलकसँग भएको हतियार खोस्यो । यो कुरा पिटर लनले ‘फ्रेण्डस इन निड’मा उल्लेख गरेका छन् । रणवीरजंगको विद्रोहपछि त झन् शमशेरहरुले जंग परिवारलाई बागी नै सम्झिएर व्यवहार गरेका थिए । शंकाको दृष्टिले हेर्थे ।
राणाशासन फाल्ने २००७ सालको क्रान्तिमा जंगखलकले पुरा साथ दिए । सीग्रेडका शमशेरहरु पनि लागे । राणाशासन फालिएपछि जंगपरिवारको काठमाडौं जाने प्रतिबन्ध फुकुवा भयो । सरकारी जागीर खाने र राजनीति गर्ने छुट पाए । दिउँसै घरछेउमा बँदेल, बाघ आउने पुरैनीको चार दिवालबाट मुक्ति पाए । ओमजंग २०४९ र २०५४ मा जिल्ला विकास समिति, बाँकेको सभापति भए ।