औषधी खुवाउनुस्, २५ लाख लैजानुस्
नेपालगञ्ज – शौचालय बनाउन र त्यसभित्र दिसा गराउन बाँकेमा दबाब नै दिनु प¥यो । स्थानीय तहले शौचालय नहुनेको सेवा सुविधा नै रोक्ने उर्दी जारी गरेपछि बल्ल–बल्ल घरमा शौचालयसम्म बन्यो । शौचालयमा दिसा गरिन्छ कि गरिदैन, त्यो फरक पाटो भयो ।
जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गराइसकेका अधिकारीहरुले खर्च अनुसारको उपलब्धी भयो÷भएन पक्कै मूल्यांकन गरेका होलान् । यद्यपि, शौचालयमा भुस राखेको र बाख्रा बाँधेको यदाकदा देखिने तस्बिरले अधिकारीहरुलाई गिज्याएको हुनुपर्छ । तर पनि, शौचालयसम्म बनाएका व्यक्तिको बिस्तारै त्यही दिसा गर्ने बानी पर्छ भन्ने आशा मारिएको छैन ।
बाँकेका बासिन्दाले घरमा शौचालयसम्म बनाउन सहज रुपले नमानेको यो घटनासँग यतिबेला हात्तीपाइले रोगविरुद्धको अभियानलाई जोडिदैछ । हात जोडेर औषधी खाऊ भन्दा रोगीले समेत पत्याएनन् ।
त्यसो भए के बाँकेका बासिन्दा आफू, परिवार र समाजको हितको सवालमा पनि ‘अटेरी’ छन् त ? हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिको पालिकाबाट सेवा सुविधा रोकिने रणनीति बन्दा जिल्लावासी अटेरी मात्रै होइन, महाअटेरी रहेको भन्न करै लाग्छ । रोगीलेसमेत औषधी खाइदिएनन् भनेर स्वास्थ्यकर्मीले भनिरहदा र जिल्ला समन्वय समितिले औषधी नखाने व्यक्तिको पालिकाबाट सेवा सुविधा रोक्ने बताउदा अब अटेरीहरुले औषधी खान्छन् कि ?
हुन पनि दश वर्षसम्म औषधी खुवाउदा दश प्रतिशतसम्म मात्रै रोगीको संख्या घट्नु राम्रो संकेत होइन । यही कुरालाई मनन् गर्दै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले औषधी नखानेको पालिकाबाट सुविधा रोक्ने र जुन पालिकाले औषधी खुवाएर एक प्रतिशत भन्दा कममा रोगीको संख्या देखाउछ त्यसलाई २५ लाख रुपैया पुरस्कार दिने बताउनु भएको छ । २५ लाख रुपैया दिने कुरा त गतवर्ष पनि श्रीवास्तवले गर्नु भएको थियो । गतवर्ष कसैले त्यो तारगेट पूरा गरेर पुरस्कार लिने शौभाग्य प्राप्त गरेनन् । संयोजक श्रीवास्तवले औषधी खुवाएर रोगीलाई एक प्रतिशत भन्दा तल झार्नुस्, २५ लाख रुपैया लैजानुस् भन्दा कोहीको हिम्मत भएन । अब पालिका प्रमुखले मात्रै हिम्मत र आँट गरेर नहुँदो रहेछ, खाने त जनता हुन् । जनताले नै नखाइदिएपछि कसको के लाग्छ र ?
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानका फोकलपर्सन दुर्गा गौतमले बुधबार पत्रकारसँगको अन्तरक्रियामा भन्नुभयो, ‘औषधी खाने व्यक्तिले खाइरहन्छन्, नखानेले खाइदिन्नन्’, खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौती बनेको छ ।’
जिल्लामा सन् २०११ मा अभियान सञ्चालनमा रहेको छ । अभियान चल्नु अघि बाँकेमा २०.८ प्रतिशत रोगी थिए । दशौं चरणको संघारमा आइपुग्दा रोगीको संख्या १० प्रतिशत रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले हात्तीपाइले रोग उन्मूलनमा अभियानमा सबैले साथ दिनु पर्ने बताउनुभयो ।
माघ २५, २६ र २७ गते औषधी खुवाइदैछ । जिल्लामा ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधी खुवाउने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिनुभयो । त्यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वयंसेविकालाई परिचालन गरिदैछ ।