शिखरले दियो २० लाख बिमा
नेपालगञ्ज – शिखर इन्सुरेन्सले नेपालगञ्जको वीपीचोकमा रहेको न्यू हिमाल स्टील फर्निचर उद्योगलाई २० लाख रुपैया बिमा रकम प्रदान गरेको छ ।
गत साउन २३ गते आगलागी हुँदा फर्निचर उद्योगमा क्षति पुगेको थियो । उद्योगका सञ्चालक सद्दाम सिद्धिकीले २९ लाखको बीमा गर्दा २० लाख रुपैया पाएको बताउनुभयो । बाणिज्य बैंकका प्रादेशिक प्रमुख आनन्द सुवेदी, शिखर इन्सुरेन्सका क्षेत्रीय संयोजक यज्ञबहादुर बस्नेतले एक कार्यक्रमका बीच सिद्धिकीलाई बिमा रकम हस्तान्तरण गर्नुभयो ।
साउन १३ गते वीपीचोक नजिकका फर्निचर उद्योगमा ठूलो आगलागी भएको थियो । त्यसमध्ये न्यू हिमालले मात्रै इन्सुरेन्स गरेको थियो । बिमा रकम हस्तान्तरण गर्दै बाणिज्य बैंकका प्रादेशिक प्रमुख सुवेदीले बिमा गर्नुपर्छ भन्ने चेतना जगाउन आवश्यक रहेको बताउनुभयो । ‘गाउँगाउँमा बिमा पुर्याउन जरुरी छ, सुवेदीले भन्नुभयो, डोरमा आएकालाई मात्रै होइन, डोरमा पुगेर सेवा दिन आवश्यक रहेको छ ।’
इन्सुरेन्स कम्पनीबाट बिमित रकम पाउन धेरै झन्झटिलो हुने बताउने गरिन्छ । शिखरका क्षेत्रीय संयोजक बस्नेतले कारोबारको सही रेकर्ड राख्दा कुनै झन्झट नहुने बताउनुभयो । बस्नेतका अनुसार, शिखरले गतवर्ष ३ अर्ब ९७ करोड प्रिमियम संकलन गरेको थियो । बिमा क्षतिपूर्तिको दावी भुक्तानी २ अर्ब गरेको थियो ।