माधव र प्रचण्डले शेरबहादुरवाद लेखे हुन्छ – ओली
नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझाव दिनु भएको छ ।
नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नु पर्नेमा अझै माक्र्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन् ।’
अध्यक्ष ओलीले माधव नेपाललाई केही समयमै दुई÷चार जना लिएर कसैको दैलोमा जाने बताउनुभयो । ओलीले भन्नुभयो, ‘पार्टीलाई गलत ढंगले कब्जा गर्ने प्रयास भएको थियो । कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए । नदीको छालले फोहोर मैलालाई किनारामा पु¥याएजसरी किनारामा पु¥याइदिए ।’
अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गर्नुभयो । ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिडिरहेका छन् । यिनको राजनीति फर्किदैन ।’
ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गर्नुभयो । ‘प्रचण्डले कहिलेकाही राम्रो कुरा गर्छन् । अस्ती कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्, ओलीले भन्नुभयो, धेरै भाग खान हिडेका थिए । अब सकिन्छन् ।’
ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताउनुभयो । ‘यिनीहरुले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्, ओलीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताउनुभयो । ‘यो सरकार त मुद्दा लडेर जाली किर्ते पाराले भनेको सरकार हो । पाँच दलीय गठबन्धनको यो सरकारले केही गर्नेवाला छैन, ओलीले भन्नुभयो, गठबन्धनमा चन्द्रमुखी छन् । कोही कता फर्केका छन्, कोही कता फर्केका छन् ।’
लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, लिला गिरी, मो. हारुनलगायतले एमालेलाई एक ढिक्का बनाएर अघि बढ्न अनुरोध गर्नुभयो ।
पार्टी अध्यक्ष ओलीको भाषण सुन्न ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो । त्यसअघि ओलीले बर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।