सन्तानेश्वर मन्दिरमा दुई वटा समिति
नेपालगञ्ज – केही महिनादेखि बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर मन्दिर चर्चामा रहेको छ । यो मन्दिर चर्चामा आएको धेरै भएको छैन । वर्षौैदेखि पूजा भइरहेपनि ४÷५ महिनादेखि मात्रै सन्तानेश्वरको चर्चा चुलिएको हो ।
व्यापक प्रचार प्रसार भएपछि भक्तजन जान थालेका छन् । भगवान शिवको मन्दिर भएकाले साउनमा धेरै भक्तजन सन्तानेश्वरमा पुगेका थिए । अहिले पनि सन्तानेश्वरमा भक्तजन गइरहेका छन् । ट्रयाकिङसँगै मन्दिरको दर्शन गर्न पाइने भएकाले भक्तजन जाने गरेका छन् । पहाडको माथिल्लो भागमा मन्दिर रहेको र बाँकेमा यस्ता मन्दिर धेरै नरहेकाले मन्दिर पूजाका साथै मन्दिर जान पनि रमाइलो हुने गरेको छ ।
वि.सं. १९३५ मा यो ठाउँमा झण्डा गाडिएको थियो । २०७० सालमा आएर मन्दिर बनाइयो । मन्दिर बनेपछि शिवरात्री, साउने सोमबारहरुमा भक्तजन पुग्ने गरेका थिए । केही महिनादेखि दैनिकजसो नै भक्तजन पुग्ने गरेका छन् ।
भक्तजनको घुँइचो लाग्न थालेपछि मन्दिर व्यवस्थापन समिति गठनको कुरा उठ्यो । साउनको हरेक सोमबार ४० हजार आसपासमा भेटी जम्मा भयो । अहिले पनि हप्तामा १५÷२० हजार भेटी उठिरहेको छ ।
‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भनेझै मन्दिरमा धेरै भेटी संकलन हुन थालेपछि मन्दिर व्यवस्थापन समिति गठनमा लफडा भएको छ । गाउँपालिकाले मन्दिर मूल महन्त योगानन्द गिरीलगायतलाई बाइपास गरेर बृजेन्द्र यादवको संयोजकत्वमा मन्दिर व्यवस्थापन समिति बनाएको छ । मूल महन्तलगायतले नितिश मौर्यको संयोजकत्वमा अर्को समिति बनाएका छन् । एउटा मन्दिरको दुई वटा समिति गठन भएपछि विवाद जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जसम्म आइपुगेको छ । जिल्ला प्रशासन कार्यालयले कुन समितिलाई मान्यता दिन्छ हेर्न बाँकी रहेको छ ।
मूल महन्त योगीले पालिकाले आफूलाई नै बाइपास गरेर समिति बनाएको बताउनुभयो । ‘सबैलाई समेटेर समिति बनाउनु पथ्र्यो । हामीलाई नै बाइपास गरेर समिति बनाइएको छ । समितिमा गैर हिन्दु पनि राखिएको छ, मूल महन्त गिरीले भन्नुभयो, यस्तो गर्नु हुँदैन ।’
मन्दिर परिसरमा दिव्यदर्शी आश्रम रहेको छ । मूल महन्त गिरीलगायत त्यही बस्छन् । त्यहाँ पानीको ठूलो समस्या रहेको छ । पानीको समस्या समाधान गर्नतिर भन्दा आफूखुशी समिति बनाएर पैसा बटुल्नेतिर लागेको आश्रमसम्बद्धको भनाई छ ।