पीएम कपको हिसाव सार्वजनिक

नेपालगञ्ज – छैठौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको हिसाव सार्वजनिक गरिएको छ ।
नेपालगञ्जलाई ‘चिनाउने अभियान’को रुपमा लिइएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको छैठौ संस्करणमा ४७ हजार बचत भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर सोको जानकारी दिएका हुन् ।
बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीका अनुसार, छैठौ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा २५ लाख ९४ हजार २ सय ५३ रुपैया सहयोग जुट्दा २५ लाख ४६ हजार ८ सय ८९ रुपैया खर्च भएको छ ।
‘छैठौ संस्करणमा केही बचत भएको छ । यसअघिका संस्करणमा घाटा हुँदै आएको थियो, ठकुरीले भन्नुभयो, अब राम्रो हुँदै जान्छ भन्ने देखिएको छ ।’
प्रदेश सांसद कृष्णा केसी नमुनाले भलिबल राष्ट्रिय प्रतियोगिता भएको, यो खेलमा आफ्नो लगाव रहेको र महिला सशक्तिको सवाल भएकाले यसको प्रवद्र्धन गर्ने सबैको दायित्व हुनुपर्ने बताउनुभयो ।
क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम वली, व्यवसायी अगुवा कृष्णप्रसाद श्रेष्ठ र सञ्जय थापाले नेपालगञ्जलाई चिनाउने यो प्रतियोगितालाई सबैले मिलेर अगाडि बढाउनु पर्ने बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री कप महिला भलिबलको सातौं संस्करणको तयारी थालिएको छ । सातौको मिति छिट्टै तोकिने अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । आयोजकले सहयोगी दातालाई यसअघि नै अडिट रिपोर्ट पठाइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !