एमडीआर टीबीका बिरामीलाई नजिकै स्वास्थ्य संस्थाबाट औषधी खुवाइदै

 

नेपालगञ्ज – राष्ट्रिय क्षयरोग केन्द्रले दामियन फाउन्डेशनको सहयोगमा बहुऔषधी प्रतिरोधी अर्थात एमडीआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम सुरु गरेको छ ।
नेपाल मै पहिलो पल्ट बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परसपुरबाट औषधी खुवाउने कार्यत्रलमको सुरुवात गरिएको हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले एमडीआर टीबीका बिरामीहरुलाई उनीहरुको घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम शुभारम्भ गर्नु भएको हो ।
बाँकेसँगै प्रदेश नम्बर ५ का अन्य जिल्लाहरु बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही, पाल्पा र नबलपरासी सुस्ता पश्चिमका जिल्लाहरुमा पनि यो कार्यक्रम सञ्चालन हुँदैछ ।


सामान्य खालको टीबीका बिरामीहरुलाई बिरामीको घर नजिकको स्वास्थ्य संस्थामा स्बास्थ्यकर्मीहरुको निगरानीमा औषधी खुवाउने कार्यक्रम लामो समयदेखि सञ्चालन हुँदै आएको भए पनि कडा खालको टीबी अर्थात एमडीआर टीबीका बिरामीहरुलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुबिधा सम्पन्न अस्पतालहरुबाट मात्रै औषधी खुवाइदै आएको थियो ।


समान्यतया एमडीआर टीबीका बिरामीहरुले स्बास्थ्यकर्मीको निगरानीमा ९ देखि २० महिनासम्म नियमित रुपमा औषधी खानु पर्छ ।
घर नजिकैको स्बास्थ्य संस्थाबाट औषधी खान नपाउदा बिरामीहरुलाई औषधी खानैका लागि हरेक दिन घरदेखि घण्टौ टाढा रहेका अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो । घरदेखि टाढा जानु पर्ने बाध्यताका कारण आर्थिक रुपले बिपन्न परिबारका बिरामीहरु औषधी खानका लागि अनेकौ कठिनाई खेप्न बाध्य थिए ।


दामियन फाउन्डेशनको सहयोगमा बिरामीको घर नजिकै रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीको घर नजिकै घर भएका अन्य स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर बिरामीहरुलाई सकेसम्म नजिक पर्ने स्थानबाट औषधी खुवाउने कार्यक्रम सुरु गर्न लागिएको हो ।
नेपालमा एमडीआर टीबीका बिरामीहरुका लागि सन् २००५ देखि उपचारको ब्यबस्था गरिदै आएको छ । नेपालमा वार्षिक करिब ६ सय जना एमडीआरका नयाँ बिरामी भेटिए पनि ४ सय ५० बिरामीले मात्रै औषधी खादै आएका छन् ।
एमडीआरका बिरामीहरुको उपचार ब्यबस्थापनलाई थप प्रभाबकारी बनाउन बिरामीलाई सम्भव भए सम्म उनीहरुको घर नजिकै औषधी खान पाउने ब्यबस्था गर्न लागिएको दामियन फाउन्डेशन नेपालका देशीय प्रतिनिधि डा. सुशील कोइलालले बताउनुभयो ।
सामान्य टीबीबाट भने नेपालमा बार्षिक करिब ४५ हजार मानिस बिरामी हुने गरेको भए पनि टीबीरोगका बिरामी मध्ये अझै पनि १२ हजार बिरामी उपचारका पहुँचमा आउन सकेका छैनन् ।


उपचारको पहुँचमा आएर औषधी खान सुरु गरेका बिरामीहरुमा पनि औषधी कोर्ष पुरा नहुँदै बिचैमा औषधी खान छोड्ने प्रबृत्ति बढ्दै गएको छ ।
औषधी बिचैमा छाड्ेका बिरामीहरुमा सामान्य औषधीले काम नगर्ने अर्थात बहुऔषधी प्रतिरोगी टीबीको संक्रमण हुने जोखिम उच्च हुन्छ ।
त्यसै गरी केही बिरामीहरुमा सुरु मै कडा खालको एमडीआर टिबीको संक्रमण भेटिने गरेको छ ।
कुपोषित बालबालिका, गरिब तथा बिपन्न परिबारका सदस्य तथा बढी तनाबमा रहने ब्यक्तिमा टिबीरोगको संत्रलमण हुने संभाबना बढी हुन्छ । नेपालमा टिबी रोगका कारणले दैनिक १८ देखि २२ जनाको मृत्यु हुने गरेको छ । गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरीतिका साथै टिबी रोगको निदान र उपचार निःशुल्क पाइने जानकारीको सर्वसाधरणसम्म नपुग्दा टिबी रोग नियन्त्रण हुन सकेको छैन ।
शुभारम्भ कार्यक्रममा केन्द्रका मेडिकल अफिसर डा. प्रमोद भट्टराई, उढरापुरका अध्यक्ष देवेन्द्रमान श्रेष्ठ, परसपुरका कावा अध्यक्ष फिरोज बेहना, जिल्ला स्वास्थ्य कार्यालयका अंगत शाही, टिबी नेपालका हिक्मत खड्कालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !