दुई दिने आमहड्तालमा उत्रिदै थरुहट

नेपालगञ्ज – थरुहट थारुवान राष्ट्रिय मोर्चाले फाल्गुन २० र २१ गते थरुहट तराई भूगोलका सबै जिल्लामा आमहड्ताल र चक्काजाम गर्ने घोषणा गरेको छ ।
मोर्चाका संयोजक लक्ष्मण थारुले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर सो घोषणा गर्नु भएको हो । आमहड्ताल अघि मोर्चाले १९ गते मसाल जुलुश प्रदर्शन गर्ने जनाएको छ । मोर्चाको बाँकेमा बसेको विशेष भेलाले तयार पारेको संघर्षको कार्यक्रमलाई नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर बाहिर ल्याइएको हो ।
आमहड्ताल एवं चक्काजामका क्रममा सरकारी तथा निजी सवारी साधन, मालवाहक यातयातका सबै साधनहरु, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहने जनाइएको छ । सो क्रममा अत्यावश्यक सवारी साधनहरु दमकल, एम्बुलेन्स, शव वाहन, दूध बोक्ने, औषधीजन्य, सुरक्षा निकाय, वैवाहिक, रेडक्रस, मानवअधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सरवाी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने मोर्चाले जनाएको छ ।
मोर्चाका संयोजक थारुले रेशम चौधरीसहित ११ जना थरुहट राजबन्दीको रिहाई गर्नुपर्ने, टीकापुर घटनाको दुई प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुरमा कफ्र्युको समयमा भएका लुटपाटको छानबिन गरेर कारबाही गर्नुपर्ने, एउटै मुद्दामा विजय गच्छदारलाई मुद्दा चलाउने अरुलाई बचाउने कार्यको अन्त्य हुनुपर्ने बताउनुभयो । मोर्चाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानप्रति तीब्र असन्तुष्टि जनाउदै उक्त अभियानको प्रतिवाद गर्ने जनाएको छ । थारुले सरकारले गलत मनसायले छानीछानी फसाउने काम गरिरहेको आरोप लगाउनुभयो ।
मोर्चाका प्रवक्ता मिनराज चौधरीले पूर्वदेखि पश्चिमसम्मको तराईमा थरुहटका दुई वटा प्रदेश हुनुपर्ने बताउनुभयो । थहरुटले यसअघि नै सरकारलाई यस विषयसहित ४० बुँदे माग दिइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !