कहाँ छन् ३७० जना ?


नेपालगन्ज – नेपालगन्ज नाकाबाट एक वर्षमा ७ सय ७७ जना महिला तथा बालिका हराएका छन् । त्यसमा ४ सय ७ जना फेला परेका छन् ।
माइती नेपाल, नेपालगन्जमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको हो । काम र दामका लागि भारत तथा भारत हुँदै तेस्रो मुलुकमा पुगेका महिला सम्पर्कबिहीन भएको बताइएको छ । कहाँ, के कामका लागि, कति घण्टा काम गर्नुपर्ने, पैसा कति पाइन्छ भन्ने जानकारी बिना नै जोखिमपूर्ण यात्रामा हिडेकाहरु सम्पर्कबिहीन हुने गरेका छन् । कतिपय घरपरिवारको सल्लाह अनुसार गएपनि नराम्रो काममा परेर सम्पर्कबिहीन भएपछि खोजतलासको लागि गुहार माग्ने गरेको पाइएको छ ।
खोजतलासको निवेदन यो वर्ष अझ बढेको छ । गतवर्ष ६ सय ६२ जनाको खोजतलासको निवेदन परेकोमा २ सय ७८ जना फेला परेका थिए । माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले सामाजिक सञ्जालको प्रयोगबाट चिनजान भएर जोखिमपूर्ण यात्रामा निस्किने संख्या बढेको बताउनुभयो । नेपालगन्ज नाकाबाट एकजनालाई बंगलादेश जाने क्रममा रोकिएको छ । सामाजिक सञ्जालबाट बंगलादेशी नागरिकसँग माया प्रेम बसेपछि महिला बंगलादेश जाने भन्दै निस्केकी थिइन् । बेचबिखनको जोखिममा रहेको भन्दै माइती नेपालले उनलाई नाकाबाट फिर्ता गराएको थियो । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ । त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।
माइती नेपाल, नेपालगन्जले सन् २०२४ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !