नितुकाे अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन
नेपालगन्ज – नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पूर्व फुटबल खेलाडी नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराउनु भयो ।
महिला फुटबलको विकासको लागि काम गर्ने उद्देश्यले महिला समिति गठन गरिएको शाहीले जनाउनु भयो । उहाँले भन्नु भयो,‘बाँकेमा महिला फुटबलको इतिहास गर्विलो छ । यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टिमको समेत नेतृत्व गर्ने अवसर पाएका छन् । तर पछिल्लो समय महिला खेलाडीहरुले धेरै अवसर पाउनु भएको छैन । महिला फुटबलको विकासमा समितिलाई सक्रिय बनाउँदै फुटबलको स्तर बढाउने उद्देश्यले समिति गठन गरिएको हो ।’
समितिमा अध्यक्षको जिम्मेवारी पाउनु भएको नितु शाह चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पूर्व खेलाडी हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष नागिन बाँके जिल्ला फुटबल संघको पूर्व उपाध्यक्ष एवम् पूर्व खेलाडी हुनुहन्छ । महासचिव सुमित्रा पनि यस क्षेत्रको चर्चित खेलाडी हुनुहुन्छ । सुमित्रा र नागिनले तत्कालिन मध्यपश्चिम, भेरी र बाँके जिल्लाको टिमको प्रतिनिधित्व गर्दै फुटबल खेल्नु भएको थियो ।
महिला फुटबल खेलाडीलाई नयाँ अवसर दिलाउँदै फुटबलको विकासमा सक्रिय भएर सामुहिक भावनाले काम गर्ने नितु शाह चन्दले बताउनु भयो । उहाँले भन्नुभयो,‘यो हाम्रो लागि महत्वपूर्ण अवसर हो । यसका लागि बाँके जिल्ला फुटबल संघलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । फुटबलको विकासमा सबैसँग सहकार्य गरेर नयाँ उपलब्धी हासिल गर्न समितिले योजना बनाएर काम गर्नेछ ।’
यसैगरी बाँके जिल्ला फुटबल संघले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको लागि टिम तयारी सुरु गर्ने निर्णय गरेको छ । आगामी फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । उक्त प्रतियोगितामा बाँके जिल्लाको टिमलाई सहभागि गराउनको लागि तयारी सुरु गर्ने संघले निर्णय गरेको छ ।