मध्यम धानको कोटा बढ्यो, मोटा धान आएन


नेपालगन्ज – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले मध्यम धानको कोटा बढाएको छ । निर्धारित कोटा भन्दा बढी आएपछि खाद्यले मध्यम धानको कोटा बढाएको हो ।
शुरुमा मध्यम धान दश हजार क्वीन्टल लिने कोटा निर्धारण गरिएको थियो । मध्यम धान बढी आएपछि १५ हजार क्वीन्टल कोटा बढाएर २५ हजार क्वीन्टल खरिद गरिएको छ । मध्यम धान अझै आइरहेको छ । खाद्यले जति आएपनि खरिद गर्ने रणनीति बनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले यो वर्ष ३० हजार क्वीन्टल मोटा र दश हजार क्वीन्टल मध्यम धान गरी ४० हजार क्वीन्टल खरिद गर्ने कोटा निर्धारण गरेको थियो । मध्यम धानको कोटा बढाइएपनि मोटा धान कोटा अनुसार नै पाउन सकिएको छैन । ३० हजार क्वीन्टल मोटा धान खरिद गर्ने भनिएकोमा अहिलेसम्म ५ हजार २ सय क्वीन्टल खरिद गरिएको छ । मोटा धान धेरै नआउने अनुमान गरिएको छ । मोटा धानको कोटा बढी रहेको र त्यो नआएपछि खाद्यले मध्यम धानको कोटा बढाएर लक्षित कोटा पूरा गर्ने चरणमा पुगेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रामशरण लामिछानेले मोटा धान धेरै नआएपछि मध्यम धानको कोटा बढाएर निर्धारित लक्ष्य पूरा गर्नेतिर लागेको बताए । उनले मध्यम धान अझै आइरहेको र जुटको बोरा नभएकाले केही दिनका लागि खरिद रोकेको र बोरा आएपछि ल्याइएका धान खरिद गर्ने जानकारी दिए ।
खाद्यले यो वर्ष मध्यम धान तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैया ५१ पैसा प्रतिक्वीन्टलमा खरिद गरिरहेको छ । खाद्यले निर्धारण गरेको यो मूल्य बजारको भन्दा दुई अढाई सय बढी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !