मानव वन्यजन्तु द्वन्द्व समाधानबारे मुख्यमन्त्रीद्धारा छलफल

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव बन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माण बारे मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारी संग छलफल गर्नु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल र बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्षसंग छलफल गर्नु भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।
‘मानव बन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाको बारेमा छलफल भएको छ’स्वकीय सचिव भुसालले भन्नुभयो,‘मध्यवर्ती क्षेत्रमा बसोवास गर्दै आउनु भएका नागरिकको दैनिक कामकाजदेखि उहाँहरुको जीविकोपार्जनको बारेमा समेत छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा समेत जानकारी गराइएको छ ।’
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०–८१ मा पाँच जनाको मृत्यु भएको र आठजना घाइते प्रदेश वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जस मध्ये बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्यु भएको थियो । एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बङ्गुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनबिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् । लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !